काठमाडौं। सम्पत्ति शुद्धीकरण अभियोगमा हिरासतमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टका नाममा खरिद गरिएको सेयरका बारेमा धितोपत्र बोर्डले ‘इन्साइडर ट्रेडिङ’ भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ।
पुँजी बजारको नियामक बोर्डले सम्पति शुद्धिकरण अनुसन्धान विभागको पत्रपछि अनुसन्धान गरेको थियो। अनुसन्धानमा बोर्डले गलत मनसायसहित ‘इन्साइडर ट्रेडिङ’ भएको निष्कर्षसहितको प्रतिवेदन विभागलाई पठाइसकेको छ।
दीपक भट्ट र उनको समूहमा आबद्ध घरानाहरुले पब्लिक लिमिटेड कम्पनीको पैसा दुरुपयोग गरेर आफ्नो नाममा सेयर खरिददेखि व्यक्तिगत खातामा पैसा लगेका थिए।
हिमालयन रि इन्स्योरेन्ससहित ५ कम्पनीले भृकुटी स्टक ब्रोकरमा ३ अर्ब ७३ करोड रुपैयाँ एडभान्स दिएका थिए। त्यसबाट नेपाल रि इन्स्योरेन्स कम्पनीको झण्डै २० लाख कित्ता सेयर अर्थात २ अर्ब ८९ करोड रुपैयाँको सेयर दीपक भट्टका नाममा खरिद गरिएको छ।
६२ करोड रुपैयाँ सुलभ अग्रवालकी श्रीमती सुभी अग्रवालको खातामा पुगेको छ भने सुभीले त्यो पैसा सुलभको खातामा पठाएकी छन्। सुलभले त्यो पैसा दीपक भट्टको खातामा पठाएको र यो रकम जगदम्बा स्टीलको कारोबार मिलाउन प्रयोग भएको छ। भृकुटीले अर्को २३ करोड रुपैयाँ ऋषिराज मोरलाई दिएको छ।
सम्पत्ति शुद्धीकरण विभागले यही विषयमा भट्टलगायतका व्यवसायीमाथि अनुसन्धान गरिरहेको छ। भट्ट र सुलभ अग्रवाल अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् भने सुलभका भइ साहिल अग्रवाल प्रहरीको फरार सूचीमा छन्।
विभागले बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणदेखि धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी एण्ड क्लियरिङलाई पत्र लेख्दै सेयर खरिदमा केही भएको हो अनुसन्धान गरेर प्रतिवेदन बुझाउन भनेको थियो। त्यसपछि बोर्ड, प्राधिकरण लगायतले अनुसन्धान प्रतिवेदन बुझाएका हुन्।
अनुसन्धानका क्रममा भट्टले आफूलाई फसाइएको दाबी गरिरहेका छन्। सुलभ लगायतले जालसाजी गरेर आफ्नो नाममा सेयर किनेको र त्यस बारेमा आफूलाई थाहा नभएको बताइरहेका छन्।
तर, अनुसन्धानमा भने ठिक उल्टो देखिएको छ। हरेक कारोबारको जानकारी ब्रोकर कम्पनीले भट्टको इमेल र फोन नम्बरमा पठाएको छ। सेयर किनबेचका बारेमा भट्ट र सुलभका बीचमा कुराकानी भएको पनि खुलेको छ।
भट्टका नाममा नेपाल रि इन्स्योरेन्सको सेयर खरिद गर्न हिमालयन रि इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड, यसको सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैंकरबाट २२ करोड १९ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको सहायक कम्पनीबाट ३७ करोड, एचएलआइ लार्ज क्याप फण्डबाट २५ करोड १४ लाख र नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाखभन्दा बढी रकम गएको छ।
संस्थाको नामबाट पैसा लिएर व्यक्तिका नाममा सेयर खरिद गरिदिने ब्रोकर कम्पनी भृकुटीलाई विभागको निर्देशनपछि धितोपत्र बोर्डले ६ महिना कारोबार रोक्का गरिदिइसकेको छ।
अनुसन्धानमा धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको पनि प्रत्यक्ष सहयोग देखिएको छ। उनले दीपक भट्टका नाममा सेयर किन्ने स्रोत जुटाइदिन एचएलआइ लार्ज क्याप फण्डलाई आवेदन दिएको १४ दिनमै स्वीकृति दिएका थिए। जबकी सरकारी लगानीको कम्पनीलाई उनले ६ महिनासम्म रोकेका थिए। यस बाहेक सन्तोषनारायण र दीपक भट्टबीच लेनदेनको पुरानो कारोबार छ।
विभाग स्रोतका अनुसार, केही दिनमै मुद्दा अदालतमा दर्ता हुनेछ।










