त्रिवेणी ग्रुपका रामचन्द्र संघईले एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने



बिजमाण्डू
२०८२ चैत्र २६ गते १२:४६ | Apr 9, 2026
त्रिवेणी ग्रुपका रामचन्द्र संघईले एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा उद्यमी रामचन्द्र संघईले उम्मेदवारी दिने भएका छन्। उद्यमी व्यवसायी एवं महासंघका पूर्व अध्यक्षहरुसँगको सल्लाह र छलफलपछि संघई वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने निष्कर्षमा पुगेका हुन्।

Tata
GBIME
Nepal Life

विगत २२ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा निरन्तर क्रियाशील संघई महासंघको पूर्व उपाध्यक्ष हुन्। रविभक्त श्रेष्ठको पालादेखि महासंघमा काम गरेका उनी शेखर गोल्छाको कार्यकालमा एशोसियटतर्फको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापति थिए।

त्रिवेणी ग्रुपका निर्देशक समेत रहेका संघईले व्यवसायीको हकहितका पक्षमा लागि पर्ने अठोटसहित महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताएका छन्।

अहिले त्रिवेणी ग्रुपअन्तर्गत उत्पादनमूलक, सेवामूलक र कृषिजन्य दर्जनौं उद्योगहरु संचालनमा छन्। करिब १८ हजार श्रमिक परिवार यी सबै उद्योगमा आबद्ध छन्। साना तथा मझौला उद्यम व्यवसायमा पनि संघई संलग्न छन्। साना तथा मझौला उद्यमी व्यवसायीले भोग्नुपरिरहेका समस्याबारे पूर्ण जानकार रहेको बताउँदै संघईले यसको समाधानमा लागि पर्ने बताएका छन्।

उद्योगी व्यवसायीका समस्या राम्रोसँग बुझ्न र महसुस गर्न सक्ने, रोजगारी सिर्जना गर्नसक्ने, उत्पादन बढाउन सक्ने एवं सरकारसमक्ष निजी क्षेत्रका समस्या समाधानमा पहल गर्नसक्ने नेतृत्व नै महासंघमा आवश्यक रहेको संघइको धारणा छ।

नयाँ सरकारले निजी क्षेत्रसँग नजिक रहेर काम गर्न जरुरी रहेको र निजी क्षेत्रले पनि सरकारसँग मिलेरै काम गर्न आवश्यक भएको बताउदै उनले यसका लागि ठोस नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिँदै आएका छन्।

लगानी वातावरण सुधार, निजी क्षेत्रको सुरक्षा र उद्योग प्रवर्धनका लागि समयसीमा सहितका काम अघि बढाउने सरकारको घोषणाले निजी क्षेत्र उत्साहित बनेको संघईको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा पहिलो सम्बोधनका क्रममा निजी क्षेत्रलाई आस्वस्त पारेकोले आफूहरुलाई थप हौसला प्राप्त भएको उनले बताएका छन्। संघईले नयाँ सरकारले जनविश्वासमा अडेर देश र जनताको पक्षमा काम अघि बढाउँदा अबको ५ वर्ष नेपालका लागि स्वर्ण युग सावित हुने उल्लेख गरेका छन्।

महासंघको ६० औं वार्षिक साधारणसभा चैत्र २९ र ३० गते काठमाडौंमा आयोजना हुँदैछ। साधारणसभाले निर्वाचित गरेको कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ।