नवनियुक्त डेपुटी गभर्नर पण्डितले लिए पद तथा गोपनीयताको शपथ, सम्हाले जिम्मेवारी



बिजमाण्डू
२०८२ चैत्र २४ गते १९:२० | Apr 7, 2026
नवनियुक्त डेपुटी गभर्नर पण्डितले लिए पद तथा गोपनीयताको शपथ, सम्हाले जिम्मेवारी


काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले मंगलबार साँझ गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

Tata
GBIME

पण्डितले डेपुटी गभर्नरका रुपमा ५ वर्ष काम गर्नेछन्। उनी राष्ट्र बैंकमा प्रवेश गरेको २० वर्षमै डेपुटी गभर्नर बनेका हुन्। मन्त्रिपरिषद्को मंगलबार अपराह्न बसेको बैठकले गभर्नरको सिफारिसमा पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो।

२०६२ माघ २ गते राष्ट्र बैंकको सेवामा प्रवेश गरेका पण्डित २०६८ जेठ २७ गते उपनिर्देशक, २०७४ असार २७ गते निर्देशक र २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए।

कार्यकारी निर्देशकका बढुवा भएपछि भुक्तानी प्रणाली विभागको नेतृत्व गरेका पण्डित पछिल्लो समय विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख थिए।

त्यसअघि उनले विभिन्न तहमा रहँदा बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, मानव संशाधन विभाग, मुद्रा व्यवस्थापन विभाग, गभर्नरको कार्यालय, वित्तीय समावेशिता र उपभोक्ता संरक्षण महाशाखामा काम गरेका थिए।

नवनियुक्त डेपुटी गभर्नर पण्डितले शपथसँगै जिम्मेवारी सम्हालेका छन्।