काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) मा उम्मेदवारी दर्ताको समय आइतबार सकिएसँगै चुनावको राप ह्वात्तै बढेको छ।
हेमराज ढकाल समूहले शुक्रबार र शिवप्रसाद घिमिरे समूहले आइतबार मनोनयन दर्तासँगै चुनावको राप ह्वात्तै बढेको हो। घिमिरे समूह वरिष्ठ उपाध्यक्षको उम्मेद्वार घोषणा नगरी चुनावमा गएको छ।
कार्यसमिति चयनपछि मात्रै वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी तयार पार्ने योजनामा घिमिरे समूह छ। यो समूहबाट रामचन्द्र संघई आकांक्षी छन्। संघई बाहेक अहिलेकै पदाधिकारीलाई वरिष्ठको उम्मेद्वार घोषणा गर्ने सम्भावना पनि छ।
दुवै समूहले प्यानल घोषणासँगै होटलमै सम्पर्क कार्यालय खडा गरेर विभिन्न कार्यक्रम गर्दै आएका छन्। वस्तुगत उपाध्यक्षमा उम्मेद्वारी दिएका घिमिरेले सिंहदरबार अगाडिको बसेरा बुटिक होटलमा सम्पर्क कार्यालय बनाएका छन्।
घिमिरे समूहले व्यवसायीहरुलाई लाजिम्पाटस्थित एम्बासडर होटलमा पार्टी आयोजना गरिरहेको छ। हेमराज समूहले नक्सालको होलिडे इन एक्सप्रेसमा सम्पर्क कार्यालय राखेको छ। ढकाल समूहका वस्तुगत उपाध्यक्षका उम्मेद्वार नरेशलाल श्रेष्ठको लगानी रहेको होलिडे इनमा पार्टी गर्ने गरिएको छ।
यो पटकको चुनाव घिमिरे र श्रेष्ठबीच रहेकोजस्तो देखिन्छ। चुनावमा एसोसिएट, जिल्ला नगर र कार्यसमिति चयन हुने भए पनि घिमिरे र श्रेष्ठ आमनेसामने देखिएका छन्। घिमिरे र श्रेष्ठ समूहले चुनाव जित्नका लागि ठूलै धनराशी खर्च गरेका छन्। वस्तुगत उम्मेद्वारका लागि र्याफ्टिङदेखि सौराहा घुमाउनेसम्मका कार्यक्रम भइसकेका छन्।
श्रेष्ठ समूहले चुनावकै लागि श्रीलंका भ्रमणको कार्यक्रम समेत राखेको थियो। स्रोतका अनुसार चुनाव नजिकिएकाले वैशाख दोस्रो साताको हवाई टिकट दिएर श्रेष्ठ समूहले भोट तान्ने रणनीतिलाई कायम राखेको छ भने घिमिरे समूहले पनि केही रणनीतिक योजना बनाइरहेको स्रोतले बतायो। यो चुनावमा वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले हेमराज र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले घिमिरेलाई समर्थन गरिरहेका छन्। ढकालपछि अञ्जन स्वत: अध्यक्ष हुँदैछन्।
घिमिरेको समूहमा एसोसिएटतर्फ प्रबलजंग पाण्डेको उम्मेदवारी परेको छ। त्यस्तै जिल्ला नगरतर्फको उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी दिएका छन्।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालको टिमबाट ज्योत्सना श्रेष्ठले एसोसिएट उपाध्यक्ष, उमेश डालमिया र कल्पना गैरेले जिल्ला नगर उपाध्यक्ष तथा कमला श्रेष्ठले महिला उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

एसोसिएसटमा प्रवलजंग र ज्योत्सना मैदानमा छन्। जोन्सना अहिले एसोसिएट उपाध्यक्ष नै छिन्। एसोसिएटको प्रोक्सी मत संकलनमा दुबै पक्ष लागेका छन्। दुबैले प्रोक्सी मत धेरै बटुलेर बलियो बन्न कसरत गरिरहेका छन्। यही बेलामा सम्पत्ति शुद्धीकरणको मुद्दामा शंकर समूहका शंकरलाल अग्रवाल र सुलभ अग्रवाल तानिएपछि चुनावको जोडघटाउमा बदलाव आउने सम्भावना देखिएको छ।
एसोसिएटतर्फ शंकर ग्रुपको करिब १०० भोट छ। शंकर ग्रुपले एसोसिएटको उम्मेदवार ज्योत्सनालाई मत दिने प्रतिवद्धता गरेको थियो। तर, सम्पत्ति शुद्धीकरणको छानबिनमा परेपछि भोट कता जान्छ भन्ने अन्योल रहेको स्रोतले बतायो।
शंकर समूहका उपाध्यक्ष सुलभ प्रहरी हिरासतमा रहेको र प्रबन्ध निर्देशक साहिल अग्रवाल फरार रहेकाले यो समूहसँग रहेको भोट कता जान्छ भन्ने यकिन छैन।
क-कसले दर्ता गराए उम्मेदवारी?











