विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयनका लागि उद्योगी व्यवसायीहरु प्यानल खडा गरेर चुनावी मैदानमा होमिंदा महासंघका सातै प्रदेशका समितिलाई पनि निर्वाचन लागेको छ।
महासंघले प्रदेश समितिलाई चैत २५ गतेभित्र निर्वाचन सम्पन्न गरिसक्न भनेकाले सातै प्रदेशमा नेतृत्वको होडबाजी सुरु भएको छ।
महासंघको कोशी प्रदेश अध्यक्षका लागि ८ वर्ष पहिले मोरङ व्यापार संघमा भिडेका २ जना आमनेसामने भएका छन्। नवीन रिजाल र राजेन्द्र राउत अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका हुन्।
चैत २२ मा निर्वाचनका लागि दुबैले हालसम्म आफ्नो प्यानल भने खडा गरेका छैनन्।
यसअघि २०७४ मा मोरङ व्यापार संघको निर्वाचनमा राउतको समूहलाई पराजित गर्दै रिजालको समूह निर्वाचित भएको थियो।
यसपछि राउत र रिजालबीचको व्यक्तित्वको टकराव सतहमा आइरह्यो।
राउत अहिले पनि महासंघको कोशी अध्यक्ष हुन्। उनले लगातार २ कार्यकाल उपाध्यक्षको रुपमा काम गरेका थिए।
राउतले महासंघका सातै प्रदेश समितिमध्ये कोशीको मात्र आफ्नो जमिन भएको र त्यो आफ्नो पहलले प्राप्त भएको बताएका छन्। त्यही जमिनमा निर्माणाधीन भवन पूरा गर्न अध्यक्षमा दोहोरिन चाहेको उनको भनाइ छ।

‘हाम्रो अनुरोधमा एक दाताले १ कट्ठा दिनुभयो र अर्को १ कट्ठा हामीले खरिद गर्यौं। त्यहाँ ७ हजार ५ सय वर्गफिटको भवन निर्माण हुँदैछ। निर्माण आधा सकिएको छ। यसलाई पूरा गर्न नै मेरो उम्मेदवारी हो,’ राउतले भने।
अर्का उम्मेदवार रिजाल महासंघका केन्द्रीय सदस्य हुन्। उनले सामूहिक नेतृत्वमा काम गर्नका लागि आफू अध्यक्ष हुन चाहेको बताए।
‘म व्यक्ति केन्द्रित होइन पद्धति केन्द्रित कार्यक्रममा विश्वास गर्छु,’ रिजालले भने, ‘म महासंघलाई टिम स्पिरिटमा सञ्चालन गर्न चाहन्छु।’
उनले आफ्नो प्रयासमा सीमावर्ती जोगबनी नजिकको मीरगञ्ज पुलको समस्या समाधान भएको जिकिर गरे। उनले तीन वर्षअघि बैंकको चर्को ब्याजदरविरूद्ध काठमाडौंमा प्रदर्शन गरेका थिए। त्यही आन्दोलनका कारण बैंकले व्यवसायीलाई जथाभावी शोषण गर्न कम गरेको र ब्याज पनि घटाएको उनको दाबी छ।
फलामे वस्तुमा लगाइएको अनावश्यक महसुल र अन्तःशुल्क तीन वर्षअघि सरकारलाई फिर्ता लिन बाध्य पारेको बेला व्यवसायीका तर्फबाट अगुवाइ गर्नेमा आफू पनि रहेको उनले जिकिर गरे। त्यतिखेर उनी मोरङ व्यापार संघको अध्यक्ष थिए।
कोशी प्रदेश समितिमा १४ जना निर्वाचनबाट छानिनेछन्। जसमा अध्यक्षका अलावा वस्तुगत, एसोसिएट र जिल्ला नगर उपाध्यक्ष तथा कोषाध्यक्ष एक एक जना हुनेछन्।
कार्यसमिति सदस्यमा जिल्ला नगरबाट ५, वस्तुगतबाट २ र एसोसिएटबाट २ जना निर्वाचित हुनेछन्। एक महिलासहित २ सदस्य कार्यसमितिले मनोनीत गर्ने व्यवस्था छ।











