नेपालमा मार्केट सेयर बढाउन आक्रामक रणनीतिमा एमजी मोटर्स, भारतबाट आउने ब्रान्डलाई नयाँ विक्रेता



शुक्र गिरी
२०८२ चैत्र १० गते २०:५१ | Mar 24, 2026
नेपालमा मार्केट सेयर बढाउन आक्रामक रणनीतिमा एमजी मोटर्स, भारतबाट आउने ब्रान्डलाई नयाँ विक्रेता

काठमाडौं। भारतबाट आउने मोरिस ग्यारेज (एमजी) ब्रान्डका गाडी अबदेखि आकाश गोल्छाको कम्पनी जिओ अटोमोबाइल्सले नेपाल ल्याउने भएको छ।

Tata
GBIME
Nepal Life

पारामाउन्ट मोटर्सले चीन र भारत दुवै देशबाट एमजीका गाडीहरू नेपाल ल्याएर बिक्री गर्दै आइरहेकोमा अब भारतबाट आउने एमजीका गाडीहरू गोल्छाको जिओ अटोमोबाइल्सले ल्याउने गरी सम्झौता भएको हो। भारतबाट अहिले एमजी कोमेट, हेक्टर र विन्सर गाडी आइरहेका छन्। यी गाडी नेपाली बजारमा अबदेखि जिओ अटोमोबाइल्सेले बिक्री गर्नेछ। कम्पनीले मंगलबार जेएसडब्लु एमजी मोटर्स इन्डियासँग सम्झौता गरेको हो। कम्पनीले अहिले सर्भिस सेन्टर निर्माण थालिसकेको छ।

पारामाउन्टले चीनमा उत्पादन हुने मोडलका एमजी गाडी नेपाल ल्याउने छ।

स्रोतका अनुसार पारामाउन्ट मोटर्सले चीनबाट आउने गाडीलाई मात्रै फोकस गरेपछि भारतबाट आउने एमजीका लागि कम्पनीले अर्कै आधिकारिक बिक्रेता खोजेको हो। सम्झौतासँगै नेपालमा भारतबाट आउने एमजी गाडीको मार्केट सेयर एग्रेसिभ रूपमा बढ्ने अनुमान गरिएको छ।

नेपालमा पहिलो पटक पारामाउन्ट मोटर्सले भारतबाट सन् २०२१ को डिसेम्बरमा एमजी मोटर इन्डियासँगको सम्झौता अनुसार हेक्टर गाडी ल्याएको थियो। त्यसपछि बिस्तारै इभितिर सिफ्ट भएपछि चीनबाट जेडएस इभी ल्याउन पारामाउन्टले ध्यान केन्द्रित गर्‍यो। जसले हेक्टरको बिक्रीलाई राम्रोसँग बजारीकरण गर्न सकेन। कम्पनीले पछि भारतमा बनेका कोमेट र विन्सर इभी पनि ल्यायो। तर कम्पनी अपेक्षित बिक्री गर्न सकेन।

‘भारतमा उत्पादन भएको एमजीका गाडीहरू नेपालमा कम्पनीले दिएको टार्गेट अनुसार पारामाउन्टले बिक्री गर्न सकेन। त्यसले गर्दा अन्य विकल्पका रूपमा आधिकारिक डिलर खोजेको हो। त्यसै क्रममा कम्पनीले नेपालका धेरै घरानासँग वार्ता गरेको थियो,’ स्रोतले भन्यो।

सम्झौतासँगै नेपालमा एमजी गाडीको दुई वटा आधिकारिक बिक्रेता भएका छन्। यसअघिको आधिकारिक बिक्रेता पारामाउन्टले चीनबाट ल्याउने र नयाँ आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले भारतबाट ल्याउने हुन्छ। भारतबाट अहिले नयाँ कम्पनीले हेक्टर, विन्सर र कोमेट गाडीहरू ल्याउन पाउँछ भने पुराना कम्पनीले चीनबाट एमजी एस ५, एमजी ४ जस्ता गाडीहरू ल्याउन पाउँछ।

भारतमा एमजी ब्रान्डका गाडीहरू अहिले जेएसडब्लु एमजी मोटर्स इन्डियाले बिक्री गरिरहेको छ। यो कम्पनी भारतको जेएसडब्लु ग्रुप र चीनको सायक मोटरबीचको संयुक्त लगानी हो। पहिले एमजीका गाडीहरू पूर्णरुपमा चीनको सायक मोटर अन्तर्गत बेचिन्थ्यो, तर सन् २०२३ पछि जेएसडब्लु ग्रुपसँग साझेदारी गरेर नयाँ संरचना बनाइएको हो। अहिले भारतमा उत्पादन, बिक्री र डिलर नेटवर्क सबै यही कम्पनीमार्फत सञ्चालन हुन्छ।

भारतमा एमजी ब्रान्ड सञ्चालन गर्ने कम्पनी सुरुमा चिनियाँ कम्पनी सायक मोटरले सन् २०१७ मा स्थापना गरेको थियो। त्यसपछि सन् २०१९ देखि हलुलमा रहेको पुरानो जनरल मोटर्सको प्लान्टबाट उत्पादन र बिक्री सुरु गरिएको थियो।

कम्पनीले करिब ६५० मिलियन डलर लगानी गर्ने योजना बनाएको थियो। तर सन् २०२० मा भारत-चीनबीच सीमा क्षेत्रमा भएको तनावपछि भारत सरकारले चीनबाट आउने लगानीमा कडाइ गर्‍यो। त्यसपछि, सन् २०२३ मा भारत सरकारको नीतिका कारण सायक मोटरले आफ्नो शेयर घटाउन बाध्य भयो।

अहिले जेएसडब्लु ग्रुपको ३५ प्रतिशत, इन्डोएज इन्डिया फण्डको ८ प्रतिशत, डिलर ट्रस्टको ३ प्रतिशत र कर्मचारी सेयर योजना अन्तर्गत ५ प्रतिशत गरी सायकको सेयर ४९ प्रतिशतमा सीमित गरिएको छ।