काठमाडौं। चिनियाँ कम्पनी चेरीको ओमोडा एन्ड जेकोको नयाँ गाडी जेको जे६टी नेपाली बजारमा आएको छ। आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले यो भेरियन्ट सोमबार सार्वजनिक गरेको हो।
शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, निर्देशक गौरव शारडा लगायतले गाडी सार्वजनिक गरेका हुन्।

रियर-व्हील ड्राइभ भेरियन्टमा गाडीको एमआरपी ६८.९९ लाख भए पनि ग्राहकका लागि विशेष प्रारम्भिक अफर भन्दै ६६.९९ लाख रुपैयाँ राखिएको छ।

गाडीले फुल चार्जमा ४३१ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। यसको ग्राउन्ड क्लियरेन्स २२५ एमएम छ।

ल्यान्ड रोभर डिफेन्डरबाट प्रेरित गाडी आकर्षक, बक्सी र रग्ड डिजाइनमा छ। अल-रोडर जेको जे६टीमा रियर-माउन्टेड मोटर छ जसले २२० एनएम टर्क उत्पादन गर्छ। यसमा लिथियम आयरन फस्फेट ब्याट्री जडान गरिएको छ।

गाडीमा १५.६ इन्च सेन्ट्रल टचस्क्रिन, ९.२-इन्च इन्स्टुमेन्ट प्यानल, स्लो वायरलेस चार्जर र ८ स्पिकर जस्ता आधुनिक फिचर समावेश छन्।

गाडी साहसिक यात्रा र कठिन सडकका लागि पनि उपयुक्त भएको कम्पनीले बताएको छ।
यसअघि जेको जे६ मा २०० मिमी ग्राउन्ड क्लियरेन्स र ४०० किलोमिटर रेन्ज उपलब्ध थियो।











