काठमाडौं। अन्तराष्ट्रिय बजारमा डलरको भाउ बलियो हुँदा सुनचाँदीको भाउ घट्न थालेको छ। गत शुक्रबारका तुलनामा आइतबार सुन तोलामा १२ हजार ५ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार मूल्य प्रति तोला २ लाख ८२ हजार रुपैयाँमा आइपुगेको छ। यसअघि गत शुक्रबार पनि अघिल्लो दिनका तुलनामा घटेर कारोबार मूल्य कायम भएको थियो। बिहीबारका तुलनामा ७ हजार ८ सय रुपैयाँले घट्दा शुक्रबार प्रति तोला २ लाख ९४ हजार ५ सय रुपैयाँ भएको थियो।
गत बुधबारका तुलनामा २ हजार ३ सय रुपैयाँले घटेर बिहीबार प्रति तोला २ हजार ३ सय रुपैयाँ भएको थियो। चार दिनमा सुनको मूल्य तोलामा २५ हजार ७०० रुपैयाँ घटेको छ।
त्यस्तै, चाँदी तोलामा ३५५ रुपैयाँले घटेर प्रति तोला ४ हजार ५ सय ४० रुपैयाँ कायम भएको छ। शुक्रबार तोलाको ४ हजार ८ सय ९५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४४९४.१ डलर र चाँदी प्रति औंस ६८.०२ डलरमा आइपुगेको छ। गत शुक्रबार सुन प्रति औंस ४७२२.८८ डलर र चाँदी ७३.८४ डलरले कारोबार भएको थियो।











