काठमाडौं। निर्वाचन परिणाम सार्वजनिक भएर नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्न लागेसँगै सेयर बजारमा उत्साह देखिएको छ।
नेप्से परिसूचक बिहीबार ६४.६७ अंक बढेर २८७७.०२ विन्दुमा पुगेको छ। कारोबारमा आएका सबै उपसमूहले बजार बढाएका हुन्।
निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सकेर बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाउँदै छ। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ।
राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन्। रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई यसअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसके पनि संसदीय दलको नेता चयन गर्न बाँकी छ।
नेप्से बिहीबार ८ महिनायताकै उच्च विन्दुमा पुगेको हो। विकास बैंकको सूचक सबैभन्दा धेरै ३.९५ प्रतिशत बढेको छ। बजारमा २४० कम्पनीको सेयर मूल्य उकालो लागेको छ। ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो। बजारमा २१ अर्ब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। ङादी ग्रुप पावरको सबैभन्दा धेरै ६१ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।








