काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आइपीओ निष्कासन अनुमति दिएका थप दुई जलविद्युत कम्पनीमा पनि अध्यक्ष सन्तोषनारायण श्रेष्ठको परिवारको लगानी रहेको पाइएको छ।
सेबोनले अध्यक्ष सन्तोषनारायणको परिवारको लगानी रहेका सानिगाढ हाइड्रो र कालंगा हाइड्रोपावरलाई आइपीओ बिक्रीको अनुमति दिएको हो। फागुन २६ गते एकैदिन सेयर निष्कासनको अनुमति पाएका ती कम्पनीले पहिलो चरणमा चैत दोस्रो सातादेखि सेयर बिक्री गर्न लागेका छन्।
सानिगाड हाइड्रोपावरले चैत ८ गतेदेखि स्थानीय र वैदेशिक रोजगारमा रहेका श्रमिकलाई सेयर बिक्री गर्न आह्वान पत्र निकालेको छ। कालंगा हाइड्रोपावरले चैत १० गतेदेखि सेयर बिक्री गर्न विवरण पत्र सार्वजनिक गरेको छ।
सानीगाड र कालंगा हाइड्रोपावरको आइपीओ निष्कासनका लागि निकालिएको विवरणपत्र अनुसार ती दुई कम्पनीमा सन्तोषनारायणका परिवारको लगानी रहेको पाइएको हो।
कालंगा हाइड्रोपावरमा सन्तोषनारायणका पिता चोपनारायण श्रेष्ठको नाममा १ लाख ४५ हजार कित्ता सेयर छ। सन्तोषनारायणकै व्यापारिक साझेदार राजेशकुमार श्रेष्ठको नाममा कालंगाको २ लाख २२ हजार ९८७ कित्ता सेयर देखिन्छ। कालंगा हाइड्रोपावरको अध्यक्षमा खगेश्वर बोहरा छन्।
१५.३३ मेगावाट विद्युत उत्पादन क्षमताको कालंगा हाइड्रोको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ। त्यसको ३५ प्रतिशतले हुन आउने ४९ करोड रुपैयाँ बराबरको सेयर आइपीओ निष्कासन गरेर सर्वसाधारणबाट उठाउन लागिएको हो। यस आयोजनाको प्रति मेगावाट लागत २८ करोड ३० लाख रहेको विवरण पत्रमा छ।
यस्तै २ अर्ब ८५ करोड रुपैयाँ जारी पुँजी कायम गरेर त्यसको ३० प्रतिशतले हुन आउने ८५ करोड ८५ लाख रुपैयाँको आइपीओ बिक्री गरेर सर्वसाधारणबाट पैसा उठाउन लागेको सानिगाड हाइड्रोपावरमा पनि सन्तोषनारायका पिताको प्रत्यक्ष लगानी रहेको विवरण पत्रमा देखिन्छ। सानिगाड हाइड्रोपावरको ३ लाख ६० हजार कित्ता सेयर चोपनारायणको नाममा छ।
विवरण पत्रमा भने सन्तोषनारायणको नाममा बुंगल हाइड्रोपावरमा जस्तै यी दुई कम्पनीमा पनि सेयर देखाइएको छैन।
सेबोनले यसअघि गत असार १५ गते सन्तोषनारायणको र उनको परिवारको लगानी रहेको बुंगल हाइड्रोपावरलाई फास्ट ट्र्याकमा आइपीओ बिक्री गर्न अनुमति दिएको थियो।
सेबोनको अनुमतिपछि बुंगल हाइड्रोपावरले सर्वसाधारणबाट २९ करोड ५ लाख रुपैयाँ उठाएको थियो। त्यो कम्पनीको सेयर अहिले दोस्रो बजारमा किनबेच भइरहेको छ। बुंगल हाइड्रोपावरको सेयर मूल्य प्रति कित्ता ६५५ रुपैयाँ छ।
कम्पनी रजिष्टारको कार्यालयमा सेयर लगत हेर्दा बुंगल हाइड्रोपावरमा सन्तोषनारायण संस्थापक सेयरधनी थिए। तर, आइपीओ निष्कासनका लागि सार्वजनिक गरेको विवरणपत्रमा भने सन्तोषनारायणका पिता चोपनारायणसहित परिवारका अरु सदस्यको मात्र लगानी भएको देखाइएको थियो।
बुंगल, कालंगा र सानिगाड हाइड्रोपावर एउटै जिल्लामा निर्माण गरिएका जलविद्युत आयोजना हुन्। बझाङको बुंगल नगरपालिकामा बुंगल र सानिगाड हाइड्रोपावरका पावर हाउस छन् भने केदारस्युँ र वित्थडचिर गाउँपालिकाका केही वडामा कालंगा हाइड्रोपावर प्रोजेक्ट छ।
३४८.४६ मेगावाट विद्युत उत्पादन क्षमताको सानिगाड हाइड्रोपावरका अध्यक्ष नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ हुन्।
बुंगल, कालंगा र सानिगाड हाइड्रोपावरमा उमेशसँगै खगेश्वर बोहरा, शिव घिमिरे, वीरेन्द्र मल्ल र चोपनारायण श्रेष्ठ संस्थापक सेयरधनी हुन्।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रयोजनका लागि प्रिपेड बिचौलिया समूहको चाहनामा १६ महिनाअघि सेबोन अध्यक्ष बनेका सन्तोषनारायणले स्वार्थको द्वन्द्वलाई बेवास्ता गर्दै पारिवारिक र आफ्नो व्यापारिक साझेदारको लगानी रहेका कम्पनीलाई एकपछि अर्को गर्दै आइपीओ अनुमति दिइरहेका छन्।
सन्तोषनारायण तिनै हुन् जसले आफ्नो पारिवारिक लगानी नरहेका जलविद्युत कम्पनीलाई आइपीओ अनुमतिका लागि भने बिचौलिया प्रयोग गरेर ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेका थिए। उनले बिचौलियामार्फत कमिसन मागेको विषय ऊर्जा उत्पादकहरुको संस्था इप्पानले गत वैशाखमै सार्वजनिक गरे पनि उनीमाथि अहिलेसम्म कारबाही गरिएको छैन।
सरकारले स्पष्टीकरणसम्म नसोधेपछि सन्तोषनारायणले जेनजी आन्दोलनपछि पनि स्वार्थ बाझिने काम रोकेका छैनन्।
सरकारको जमिन लिजमा लिएर सटर भाडामा लगाउने ट्रेड टावरेदखि पुन: मूल्यांकनविना दुई वर्षअघिको वित्तीय विवरणका आधारमा रिलायन्स स्पिनिङ मिल्सलाई सर्वसाधारणबाट पैसा उठाउने अनुमति विवादमा पर्दा पनि तालुकवाला अर्थ मन्त्रालयले मौनता साँधिरहेको छ। सन्तोषनारायणले मनपरी गर्दा समेत माथिल्लो तहका निकाय चुपचाप छन्।










