काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचनपछि सोमबार खुलेको सेयर बजार पोजेटिभ सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजारमा दोस्रो दिन उतारचढाव देखिएको छ।
मंगलबार प्रि-ओपनिङमा ३६ अंकले बढेको बजार कारोबार सुरु भएको केही मिनेटमै ९१ अंकले घटेको थियो। त्यसपछि फेरि उकालो लागेको बजारमा ५० अंक बढीको उतारचढाव देखिएको छ।
एक घण्टामा ११ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ। बजारमा १२ बजेसम्म १० अर्ब ९६ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यतिबेला नेप्से परिसूचक ५८.२६ अंक घटेर बजार २८१७ विन्दुमा छ।
केही कम्पनीको सेयर मूल्य पोजेटिभ लाग्दा अधिकांशको घटेको छ। निर्वाचनको नतिजापछि उत्साहित देखिएको बजार दोस्रो दिन सम्हालिन खोजिरहेको सूचकले देखाउँछ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आउनेक्रम जारी छ।
प्रत्यक्षतर्फको मतगणनासम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै १२५ सिट जितेको छ। समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुग्दा रास्वपाले ५० लाख बढी मत ल्याएको छ। दुई तिहाइ बहुमत नजिक जित हात पारेको उक्त पार्टीले प्रधानमन्त्रीमा यसअघि नै बालेन्द्र शाहलाई अघि सारिसकेको छ।
रास्वपा एक्लैको बहुमत सरकार बन्ने देखिएपछिको प्रभाव बजारमा देखिएकामा दोस्रो दिन भने केही सम्हालिन खोजेको छ।










