काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स कम्पनीका ठूला संस्थागत निक्षेपकर्ताको पैसा फिर्ता गरिने भएको छ। कम्पनीका ठूला संस्थागत निक्षेपकर्तालाई करिब १३ करोड फिर्ता गर्ने तयारी भइरहेको छ।
नागरिक लगानी कोष, सेना र राष्ट्रिय बीमा संस्थानको पैसा फिर्ता गर्ने तयारी भइरहेको राष्ट्र बैंकका एक अधिकारीले बताए।
तीनवटै संस्थाको करिब १३ करोड रुपैयाँ फिर्ता गर्ने तयारी भइरहेको ती अधिकारीको भनाइ छ। फाइनान्समा नागरिक लगानी कोष र सेनाको ठूलो निक्षेप छ। राष्ट्रिय बीमा संस्थानको निक्षेपको हिस्सा सानो रहेको उनले बताए।
नेपाल सेयर मार्केट एण्ड फाइनान्स कम्पनीको खराब कर्जा बढेर थपिएको कर्जा नोक्सानीले पुँजीकोष ऋणात्मक हुँदा राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी ‘ओभर टेक’ गरेको थियो।
नेपाल सेयर मार्केट एण्ड फाइनान्स कम्पनी २०६८ पुस ८ गते समस्याग्रस्त घोषणा गरिएको थियो। कम्पनीको खराब कर्जा बढेर थपिए कर्जा नोक्सानीले पुँजीकोष ऋणात्मक हुँदा राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी ओभर टेक गरेको थियो।
पछि कम्पनीलाई पुन: संचालन गर्ने प्रयास समेत भए। कम्पनी संचालनको लागि व्यवस्थापन परिवर्तन लागि धेरै पटक आवेदन र सर्टलिस्टिङ र छनोट प्रक्रिया भएपनि अझै संस्था पूर्ण रुपमा संचालन गर्न सकिएको छैन।











