हिमालयन बैंकमा सुधार खोज्दै राष्ट्र बैंक, आधा दर्जन कैफियत भेटिएपछि योजना माग्दै



बिजमाण्डू
२०८२ फागुन १३ गते ०९:१२ | Feb 25, 2026
हिमालयन बैंकमा सुधार खोज्दै राष्ट्र बैंक, आधा दर्जन कैफियत भेटिएपछि योजना माग्दै

काठमाडौं। हिमालयन बैंकमा आधा दर्जन कैफियत देखिएपछि नेपाल राष्ट्र बैंकले सञ्चालक समितिलाई डाकेर सुधार योजना ल्याउन निर्देशन दिने भएको छ। मौखिक रुपमा दिइएको निर्देशन पालना नभएपछि राष्ट्र बैंकले लिखित रुपमै सुधार योजना ल्याउन पत्राचार गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

बैंक पुरानै ढर्रामा चलेको, सेवा र गुणस्तरमा प्रतिस्पर्धी नभएको, खराब ऋण बढ्दै गएको, पुँजी कोष कम हुँदै गएको र दैनिक सञ्चालनमा पनि प्रावधिक कमजोरी देखिएको भन्दै बैंक सुधार योजना माग्न लागेको हो।

‘हामीले भेटेर कसरी सुधार गर्नु हुन्छ भनेर सोधेको हो। योजना ल्याउनुहोस् पनि भनेको हो’ उच्च स्रोतले भन्यो, ‘व्यवस्थापन र कार्यशैली सुधारसम्मका कुरा पनि गरेको हो। तर उहाँहरुले गम्भीर रुपमा लिएको जस्तो लागेन। अब लिखित रुपमै योजना माग्छौं।’

स्रोतका अनुसार, मुद्रा कोषको सर्तमा अन्तर्राष्ट्रिय लेखा परीक्षकको लेखा परीक्षणपछि हिमालयन बैंकलगायत १० संस्थाका बारेमा विस्तृत प्रतिवेदन आइसकेको छ। त्यसले हिमालयन बैंकमा केही कैफियत देखाएको छ। ती कैफियतसमेत राखेर सञ्चालक समितिसँग सुधार योजना मागिने छ।

‘उच्च व्यवस्थापनदेखि बैंक नै सुधार गर्नुपर्ने अवस्था छ। त्यसो हुँदा हामीले निक्षेपकर्ताको हितका लागि पनि केही निर्णय गर्नुपर्ने देखिएको छ,’ स्रोतले भन्यो। वर्षौंदेखि एउटै व्यक्ति र प्रवृत्ति एकै ठाउँमा हुँदा बैंक पुरानै ढर्राबाट चलेको निष्कर्ष राष्ट्र बैंकको छ।

यद्यपि बैंकका दुई फरक समूहले नयाँ प्रमुख कार्यकारीको खोजी भने गरिरहेको छ। राष्ट्र बैंक भने प्रमुख कार्यकारीसहित दुई नायब प्रमुख कार्यकारी अधिकृतसम्म फेरिनुपर्ने पक्षमा छ। बैंकमा दुई जना डेपुटी प्रमुख कार्यकारीहरु करारमा छन्। उनीहरुको नियुक्तिलाई लिएर राष्ट्र बैंकले सञ्चालक समितिलाई प्रश्न समेत सोधेको थियो।

एनआइसी एसिया बैंकमा पनि राष्ट्र बैंकले नै व्यवस्थापन प्रमुख र सञ्चालक समिति अध्यक्ष फेर्न दबाब दिएको थियो। उनीहरुले आलटाल गरेपछि जरिवाना गराएर हटाइएको थियो।

हिमालयन बैंकमा अहिले चार वटा समूह हावी छ। एउटा प्रमुख कार्यकारी रहेका अशोक राणा, अर्को नेशनल लाइफ इन्स्योरेन्स समूह, त्यसपछि मनोजबहादुर श्रेष्ठ समूह र मर्जर भएर आएको सिभिल बैंक समूह। 

राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतसहित माथिल्लो व्यवस्थापनमा विकल्प खोज्न भनेपछि स्थापनाकालदेखि नै बैंकमा जरा गाडेर बसेको मनोजबहादुर श्रेष्ठ समूहले आफ्नो हिसाबले नयाँ प्रमुख कार्यकारी ल्याउन पहल गरिरहेको छ। नेशनल लाइफ समूहले पनि त्यही अनुसार काम गरिरहेको छ।

मनोजबहादुरका तर्फबाट अहिले बैंकको संचालक समितिमा प्रचण्डबहादुर श्रेष्ठ अध्यक्ष छन्। यो समूहसँग प्रमुख कार्यकारी अधिकृत राणाको सम्बन्ध राम्रो छैन। राणासँग अहिले खेतान समूह नजिक छ भनिएको छ। 

तर राष्ट्र बैंक सञ्चालक समितिको पनि बिकल्प खोज्ने पक्षमा छ। 

सफ्टवेयर अपग्रेड गर्दा महिना दिनभन्दा बढी बैंकिङ कारोबार प्रभावित भएको राष्ट्र बैंकलाई चित्त बुझिरहेको छैन। यसबाहेक खराब ऋण उकालो लागेको छ। पुँजी कोष घटिरहेको छ। यसलाई अहिलेकै व्यवस्थापन वा सञ्चालक समितिबाट सुधार गर्न सकिन्न भन्नेमा राष्ट्र बैंक नेतृत्व सहमत छ। त्यही भएर उसले बैंकका बारेमा महत्वपूर्ण  निर्णय गर्न खोजेको हो।

राष्ट्र बैंकले माथिल्लो व्यवस्थापनमा सुधार गर्न भनेपछि मनोजबहादुर श्रेष्ठ समूह केही सक्रिय देखिएको छ। बाँकी समूहले पनि स्थापित पूर्व बैंकरदेखि बहालवाला डेपुटी प्रमुख कार्यकारीहरुसँग कुराकानी गरिरहेको छ।