शताब्दी पुरानो सहकारीमा किसान र खुद्रा बजार एउटै छातामुनि, गाउँको आर्थिक चक्र चलायमान



आकाश बोगटी
२०८२ फागुन १० गते ०६:०४ | Feb 22, 2026
शताब्दी पुरानो सहकारीमा किसान र खुद्रा बजार एउटै छातामुनि, गाउँको आर्थिक चक्र चलायमान

पुणे । भारतमा एक शताब्दीअघि सानो गाउँमा सुरु भएको एउटा सहकारी आज ग्रामीण अर्थतन्त्रको बलियो आधार बनेको छ।

Tata
GBIME
Nepal Life

सन् १९२६ मा स्थापना भएको भारतको पुणेस्थित महर्षी कास्टी विविध कार्यकारी सेवा सहकारी सोसाइटीले समयसँगै आफूलाई परम्परागत मल–बीउ बेच्ने संस्थाबाट बहुआयामिक ग्रामीण व्यावसायिक केन्द्रमा रूपान्तरण गरि गाउँको आर्थिक चक्र चलायमान बनाउन महत्त्वपूर्ण योगदान गरेको छ।

सहकारीले केवल बचत–ऋण मात्र होइन, उत्पादन, बजारीकरण र सेवा वितरणलाई पनि जोडेर काम गर्दै आएको छ। कास्टी सोसाइटीभित्र सहकारीले ३२ वटा पसल संचालन गरिरहेको छ। जहाँ मेडिकल सामग्रीदेखि सम्पूर्ण उपभोग्य वस्तु पाइन्छ।

सोसाइटीमा मल र विषादीदेखि मिठाई, घरायसी सामान, रेडिमेड कपडा र जुत्ता किन्न ग्राहकको भिड लाग्ने गरेको छ। सहकारीले सञ्चालन गरेका पसल गाउँकै आर्थिक केन्द्र बनेका छन्।

बजारमाभन्दा सस्तो मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउनु, बिचौलिया घटाउनु र किसान–उपभोक्ता दुवैलाई प्रत्यक्ष लाभ दिनु सहकारीले सञ्चालन गरेका पसलको उद्देश्य हो।

यसबाहेक सहकारीले स्थानीय उत्पादन र उपभोगलाई प्रोत्साहन गर्न विभिन्न डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएको छ, जहाँ ५० जना कर्मचारी कार्यरत छन्।

ग्राहकले पसलमा सस्तो मूल्यमा सामान पाउँछन्। सहकारीका पसलले व्यवसाय बढाएर नाफा कमाए त्यो सदस्य किसानकै हातमा पुग्छ। सहकारीले आफूले कमाउने नाफा लाभांश वा सेवा सुविधाका रूपमा रुपमा सदस्यलाई बाँड्ने गरेको छ।

सहकारीले ग्राहक सदस्यलाई बचत गर्न अनिवार्य गरेको छैन। बचत अनिवार्य नगरी सेयर खरिदमार्फत सहकारीले सदस्यको सहभागिता बढाउने गरेको छ। अहिले सहकारीमा करिब १३ सय सदस्य छन्।

सहकारीको नयाँ सदस्य बन्न सेयर खरिद गर्नुपर्छ। प्रति कित्ता सेयर मूल्य ९०० सय रुपैयाँ तोकिएको छ, जसमध्ये ८०० रुपैयाँ जगेडा कोषमा राखिन्छ।

सहकारीका अध्यक्ष बाजपुटे सदस्यबाट बचत लिँदा त्यसले दायित्य सिर्जना गर्ने भएकाले सेयरलाई मात्रै प्राथमिकतामा राखेको बताउँछन्।

‘सदस्यलाई अनिवार्य बचतको व्यवस्था गरेका छैनौं। बचत लिएपछि त्यसको केही ब्याज रिटर्न गर्नुपर्ने हुन्छ। ब्याज दिँदा त्यसले दायित्व बढाउने भयो,’ उनले भने, ‘दायित्व भएपछि बचतबाट धेरै कमाउनु पर्ने प्रेसर हुन्छ। धेरै कमाउने प्रेसर भएपछि सस्तो दरमा लगानी गर्न सकिंदैन। त्यसकारण हामीले सदस्यलाई बचत अनिवार्य गरेका छैनौं।’

सहकारीले उखु खेती गर्न प्रोत्साहन गरेको छ। आफ्ना सदस्य किसानलाई सहकारीले उखु उत्पादनका लागि प्रति सिजन ७० हजार भारुसम्म ऋण उपलब्ध गराउँदै आएको छ। किसानले मासिक रुपमा किस्ता तिर्नु पर्दैन।

किसानले सिजनल हिसाबले साँवा ब्याज भुक्त्तानी गर्नुपर्छ। यसले किसानको उत्पादन क्षमता र आम्दानी दुवै बढाउन सहयोग पुर्‍याएको बाजपुटेले बताए।

उनका अनुसार सहकारीले कास्टी गाउँको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। ‘हाम्रो उद्देश्य ग्राहक सदस्यलाई सस्तो र सुलभ मूल्यमा उपभोग साम्रगी उपलब्ध गराउने हो,’ उनले भने, ‘त्यसकारण हामीले मेडिकल सेवादेखि सम्पूर्ण उपभोग सामग्री एउटै ठाँउबाट दिइरहेका छौं।’

सहकारी परिसरभित्र चहलपहल सानो बजारमा भन्दा कम हुँदैन। सदस्य किसान र स्थानीय उपभोक्ता पसलका ग्राहक हुन्। ती पसलले ग्राहकलाई बीउ, मल, विषादी, सिँचाइ, कृषि औजार खरिदका लागि सहकारीमार्फत सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउँछन्।

बजारमा चलेको भन्दा कम ब्याजदरमा किस्ताबन्दीमा बाली चक्र अनुसार पाउने ऋणले किसानलाई निक्कै सहज भएको छ। सहकारीमा सदस्य किसान नै सञ्चालक छन्। ‘एक सदस्य, एक मत’ प्रणाली लागू गरिएको छ।

किसानको लागत घटाउने उद्देश्य

पुँजी अभाव, महँगो कृषि सामग्री र बजारको अन्योलजस्ता समस्यालाई सम्बोधन गर्दै ‘सहकार महर्षी कास्टी विविध कार्यकारी सेवा सहकारी सोसाइटी’ले सदस्य–केन्द्रित मोडलमार्फत सेवा विस्तार गरेको छ।

सहकारीले उत्पादनदेखि बजारीकरणसम्मको एकीकृत प्रणाली अपनाएर सदस्यको आर्थिक लागत घटाउन भूमिका निर्वाह गरेको छ।

बाली चक्रअनुसार किस्ता तिर्न मिल्ने व्यवस्था र सहुलियत ब्याजदरका कारण किसानहरु साहु महाजनको उच्च ब्याजदरबाट जोगिएका छन्। सहकारीले आकस्मिक आवश्यकताका लागि सानो ऋण सुविधा पनि दिने गरेको छ।

किसानले किस्ताबन्दीमा सामग्री लिन सक्ने व्यवस्था गरिएको सहकारीका सञ्चालकहरु बताउँछन्। दैनिक उपभोग्य वस्तुसमेत सहकारी पसलमा सुलभ मूल्यमा पाइने हुँदा किसानले घर खर्चको धेरै दबाब झेल्नुपर्दैन।

उत्पादन संकलन र बजार व्यवस्थापनमा सहकारी सक्रिय छ। किसानबाट संकलित तरकारी, अन्न तथा फलफूल थोक बजार वा उद्योगसम्म सहकारीले नै पुर्‍याउने भएकाले बिचौलिया हावी हुन पाएका छैनन्। जसले गर्दा किसानले उचित मूल्य पाइरहेका छन्। आफूहरुलाई उत्पादन बिक्रीको चिन्ता खासै नहुने किसानहरूको भनाइ छ।

मल, बीउ, विषादी र उपकरण एउटै ठाउँमा सस्तो मूल्यमा पाउँदा समय र लागत दुवै बचत भएको किसानले बताए।

यसले देखाउँछ, सहकारी मोडेल आधुनिक बजारसँग प्रतिस्पर्धा गर्न सक्षम छ।

नेपालका सहकारीका लागि सिकाई

स्थानीयस्तरमै पुँजी परिचालन, उत्पादन वृद्धि र बजार पहुँच विस्तार हुँदा ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ। किसान आत्मनिर्भर बन्दै गएको सहकारीको दाबी छ।

जोखिम व्यवस्थापनतर्फ सहकारीले बाली तथा पशु बीमामा सहजीकरण गर्दै आएको छ। प्राकृतिक विपत्तिका बेला राहत तथा पुनर्स्थापना सहयोगसमेत उपलब्ध गराउने व्यवस्था गरेको छ।

साथै, आधुनिक खेती प्रविधि, रोग–किरा नियन्त्रण र उत्पादन वृद्धि सम्बन्धी तालिमले सदस्यको सीप र आत्मविश्वास बढाएको छ।

सहकारीले बहुउद्देश्यीय सेवा दिन सक्छ, खुद्रा व्यापारमार्फत अतिरिक्त आय सिर्जना गर्न सक्छ, निजी क्षेत्रसँग सहकार्य गर्न सक्छ र गाउँमै आर्थिक गतिशीलता ल्याउन सक्छ भन्ने उदाहरण महर्षी कास्टी बनेको छ।

उत्पादनदेखि बजारीकरणसम्म एकीकृत प्रणाली अपनाएर सदस्यको आर्थिक लागत घटाउन महर्षी कास्टीले अपनाएको शैली नेपालका सहकारीका लागि राम्रो सिकाई हुनसक्छ।