पाँचवटा होटल नोक्सानीमा जाँदा सोल्टीले बढायो नाफा, ६ महिनामा डेढ अर्बको व्यापार



सुनिल कुँवर
२०८२ फागुन ४ गते ०६:३० | Feb 16, 2026
पाँचवटा होटल नोक्सानीमा जाँदा सोल्टीले बढायो नाफा, ६ महिनामा डेढ अर्बको व्यापार

काठमाडौं। अधिकांश होटलको व्यवसायमा धक्का लागेको छ। चालु आर्थिक वर्ष साउनदेखि पुससम्म पोहोर सोही अवधिको तुलनामा धेरै होटलको व्यापारसँगै नाफा घटेको छ।

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका ७ वटा कम्पनीमध्ये सोल्टी, कालिञ्चोक दर्शन र बन्दीपुर केबलकार बाहेकका सूचीकृत कम्पनीको आम्दानी घटेको हो।

चालु आर्थिक वर्ष ६ महिनामा तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, चन्द्रागिरी हिल्स, सिटी होटल र बन्दीपुर केबलकार नोक्सानीमा गएका छन्।

पोहोर ६ महिनामा १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको तारागाउँ रिजेन्सी यसपटक ९ करोड रुपैयाँ नोक्सानीमा छ।

गत आर्थिक वर्ष ६ महिनामा ६९ करोड ४८ लाख रुपैयाँको व्यापार गरेको तारागाउँको सञ्चालन आम्दानी यस वर्ष सोही अवधिमा ७५.२६ प्रतिशत घटेर १७ करोड १९ लाख रुपैयाँमा झरेको छ। तारागाउँ रिजेन्सी गत भदौ २४ गते जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीपछि बन्द छ।

नेप्सेमा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका कम्पनीको दुई आर्थिक वर्ष ६ महिनाको वित्तीय अवस्था

कम्पनी२०८२/८३ साउन-पुस
खुद नाफा (हजारमा)
२०८१/८२
साउन-पुस
खुद नाफा (हजारमा)
फरक %२०८२/८३
साउन-पुस
सञ्चालन आम्दानी (हजारमा)
२०८१/८२
साउन-पुस
सञ्चालन आम्दानी (हजारमा)
फरक %
सोल्टी होटल३४७५६८३०७७१३१२.९५१४५९७१०१२८६०५६१३.५
तारागाउँ रिजेन्सी-९०८३०१८६७८२१७१९४२६९४८६०-७५.२६
ओरियन्टल होटल-२७४३१-१२७४२४८४६१५५१५८१७-६.०५
चन्द्रागिरी हिल्स-४७०२०६६४८२२४८९६०४२२५३७-४१.०८
कालिञ्चोक दर्शन११९९३४७४६१५२.७३४१५९२९०६४१७.५३
सिटी होटल-१००९३८-१०४९६८२३२३९८२३५७९१-१.४४
बन्दीपुर केबलकार-७४९१-२५९०८९४५७६७८०३९.४८
स्रोत : कम्पनीको वित्तीय विवरण

आन्दोलनको निसानामा परेको चन्द्रागिरी हिल्स ४ करोड ७० लाख रुपैयाँ नोक्सानीमा गएको छ। चन्द्रागिरी केबलकार तोडफोड र आगजनीका कारण २ महिना बन्द भएको थियो। कम्पनीले पोहोर ६ महिनामा ६ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पोहोर ६ महिनामा १ करोड २७ लाख रुपैयाँ नोक्सानीमा रहेको ओरियन्टल होटलको घाटा २ करोड ७४ लाख रुपैयाँ पुगेको छ। होटलको सञ्चालन आम्दानी ६.०५ प्रतिशतले घटेर ४८ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ।

सिटी होटल आम्दानी १.४४ प्रतिशतले घट्दा १० करोड ९ लाख रुपैयाँ घाटामा छ।

बैंक तथा वित्तीय संस्थाको ब्याजदर न्यून विन्दुमा आएकाले होटलहरुलाई वित्तीय लागतको हिसाबले सहज छ। ब्याजदर कम हुँदा अधिकांश होटलको वित्तीय लागत घटेको छ।

नेप्सेमा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका कम्पनीको दुई आर्थिक वर्ष ६ महिनाको वित्तीय अवस्था

कम्पनी२०८२/८३
साउन-पुस
वित्तीय लागत (हजारमा)
२०८१/८२
साउन-पुस
वित्तीय लागत (हजारमा)
फरक %२०८२/८३
साउन-पुस
प्रति सेयर आम्दानी(रुपैयाँ)
२०८१/८२
साउन-पुस
प्रति सेयर आम्दानी(रुपैयाँ)
सोल्टी होटल४८३४५६५८८.३१३.४०३.३१
तारागाउँ रिजेन्सी-४.३६९.५२
ओरियन्टल होटल६९६२६६५१३५६.४५-२.३२-१.०८
चन्द्रागिरी हिल्स६७४९०८७३६५-२९.४५-३.०७४.३३
कालिञ्चोक दर्शन२९५५५२२१-७६.६८३.९७-१.१२
सिटी होटल१०२६१११४२८९२-३९.२६-३.३५६.२७
बन्दीपुर केबलकार८५१६१३२५७-५५.६७-०.२६
स्रोत : कम्पनीको वित्तीय विवरण

सोल्टी होटलले भने आम्दानीसँगै नाफा बढाएको छ। सोल्टीले सबैभन्दा धेरै ३४ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो रकम पोहोर ६ महिनाको तुलनामा १२.९५ धेरै हो।

होटलले गत आर्थिक वर्ष साउनदेखि पुससम्म ३० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सोल्टीको व्यापार बढ्दा मुनाफामा सुधार आएको हो। होटलको आम्दानी १ अर्ब २८ करोड ६० लाखबाट १३.५ प्रतिशतले वृद्धि भएर १ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाइँले जेनजी आन्दोलनले सेप्टेम्बर महिनामा अकुपेन्सी केही घटे पनि त्यसपछि बढेका कारण नाफा वृद्धि भएको बताए।

‘जेनजी आन्दोलनले गर्दा सेप्टेम्बर महिनामा अकुपेन्सी एकाएक घट्यो। तर अक्टोबर सुरु भएपछि नै होटलमा पर्यटक बढे। जसले गर्दा हाम्रो व्यापार राम्रै भयो,’ चापागाइँले भने, ‘हामीकहाँ अहिले पनि अकुपेन्सी राम्रो छ।’

गत सेप्टेम्बरमा हवाई मार्ग हुँदै ७८ हजार ७११ विदेशी पर्यटक नेपाल आएकामा त्यो संख्या अक्टोबरमा १ लाख २८ हजार ४४३ पुगेको थियो।

कालिञ्चोक दर्शनले आम्दानी बढ्दा १ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ। यो पोहोर ६ महिनाको तुलनामा १५२.७ प्रतिशत धेरै हो।

केही महिनाअघि आइपीओ निष्कासन गरेको बन्दीपुर केबलकारको आम्दानी बढेको छ। आम्दानी बढेपछि बन्दीपुरले नोक्सानी ७४ लाख रुपैयाँमा झारेको छ।