काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन कारोबार सुविधा सम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ।
सेबोनले यसअघि २०७४ मा जारी गरिएको निर्देशिका खारेज गर्दै मंगलबार नयाँ निर्देशिका जारी गरेको हो। नयाँ निर्देशिका फागुन १ गतेदेखि लागू हुने सेबोनले बताएको छ।
नयाँ निर्देशिकाले सेयर लगानीकर्तालाई सेयर खरिद गर्नका लागि ब्रोकर कम्पनीसँग ऋण (मार्जिन) सुविधा प्राप्त गर्ने बाटो खोलेको छ।
मार्जिन सुविधाका लागि सेबोनले सर्त तोकेको छ। कम्तिमा २५ लाख कित्ता सर्वसाधारण सेयर (लकइन भएका सेयर बाहेक) सूचिकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष खुद नाफा गरेको,
आइपीओ सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने सर्त तोकिएको हो।
यस्तै मार्जिन कारोबार सुविधा प्रदान गर्ने ब्रोकर कम्पनीका लागि चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्य वा निक्षेप सदस्य कम्पनीको सेयरधनी रहेको वा सहायक कम्पनीको रुपमा रहेका
धितोपत्र दलाल व्यवसायीको मुख्य कम्पनीले निक्षेप सदस्यता प्राप्त गरेको हुनुपर्ने योग्यता तोकिएको छ।
मार्जिन कारोबार सुविधाको अवधि बढीमा एक वर्षको हुनेछ। तर एक वर्षपछि नवीकरण गर्न मिल्नेछ।










