
काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपीओ) सोमबारदेखि बिक्री खुल्ला भएको छ। सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि सेयर आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
आवेदन दिन मेरो सेयरको मोबाइल एपका साथै ब्राउजरमा मेरो सेयर लगइन गरेर पनि आवेदन दिन सकिने छ। मोबाइल एपमा थपिएको माइ आस्वा फिचरमा क्लिक गरेपछि ब्राउजरबाट आवेदन दिएजस्तै आवेदन दिन सकिन्छ। यसका साथै सी-आस्वा सुविधा लिएका सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिन्छ।
२ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक सेयर निष्कासन गर्न लागेको हो। कर्मचारीलाई ५ प्रतिशत र सामूहिक लगानी कोषका लागि पनि ५ प्रतिशत छुट्याएर बाँकी रहेको ५४ लाख कित्ता सेयरको बिक्री खुल्ला गरिएको हो।
कम्पनीले कर्मचारीलाई न्यूनतम ३०० कित्तादेखि पद र कार्यानुभव तथा पदावधि अनुसार ३ हजार कित्ता सम्म सेयर वितरण गर्ने तयारी गरेको छ। कम्पनीमा २६० जना कर्मचारी कार्यरत रहे पनि केही कर्मचारीहरु भने काम गरेको न्यूनतम अवधिको मापदण्डभित्र नपरेपछि सेयर पाउनबाट वञ्चित भएका छन्।
सर्वसाधारणतर्फ भने बढीमा ५ लाख ४० हजार जनाले बढीमा १० कित्ता सेयर पाउने छन्। कम्पनीले समग्र वित्तीय अवस्था तुलनात्मकरूपमा कम जोखिमपूर्ण रहेको रेटिङ पाएको छ। इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा इक्राएनपी-आइआर बीबी प्लस रेटिङ पाएको छ। प्लसले चिन्हले कम्पनीमा तुलनात्मक रूपमा जोखिम कम भएको बुझिन्छ भने माइनस चिन्हले जोखिम बढी रहेको बुझिन्छ।
सेयर जारी गरेर संकलन हुने रकम वाणिज्य बैंक र नेपाल पूर्वाधार बैंकमा ५० करोड रुपैयाँ मुद्दती निक्षेपमा राखिने छ। ५ करोड रुपैयाँ डिबेन्चरमा र ५ करोड रुपैयाँ सेयर आदिमा लगानी हुने कम्पनीले जनाएको छ। छिटोमा पुस २ गते र कम्पनीको सेयरमा पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस १३ गतेसम्म सेयर बिक्री खुल्ला रहने छ।
९० वटा शाखा तथा उपशाखा कार्यालय रहेको कम्पनीमा सबैभन्दा धेरै प्रभु बैंकको २० लाख कित्ता संस्थापक सेयर स्वामित्व छ।
साीग्रिला डेभलपमेन्ट बैंकको १७ लाख ७७ हजार ५०० कित्ता, नेपाल इन्भेष्टमेन्टको १४ लाख कित्ता, प्रभु ग्रुपको १० लाख कित्ता, प्रभु म्यानेजमेन्टको ७ लाख कित्ता, प्रभु क्यापिटलको ५ लाख कित्ता, विराटकुमार श्रेष्ठको ३ लाख ५० हजार कित्ता, देवीप्रकाश भट्टचनको ३ लाख ४९ हजार ५०० कित्ता, सुशील थापाको ३ लाख कित्ता, सनराइज होल्डिङको ३ लाख कित्ता, वीरेन्द्रनारायण श्रेष्ठको २ लाख कित्ता, शिवकुमार श्रेष्ठ, गोकुल भण्डारी, आइक्यापिटल र एबी होल्डिङको पनि समान २/२ लाख कित्ता संस्थापक सेयर छ।
त्यसैगरि महेन्द्रकुमार गोयल र स्वरुप गुरुङ कोनेको समान १ लाख ५० हजार कित्ता सेयर छ भने सञ्चालक समितिका अध्यक्ष आत्माराम घिमिरे र सञ्चालक सुभाष आमत्यको समान १/१ लाख कित्ता संस्थापक सेयर स्वामित्व छ।
कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा १३ लाख खुद नाफा गरेकोमा २०७४/७५ मा ५ करोड २४ लाख, २०७५/७६ मा ८ करोड १६ लाख र २०७६/७७ मा ५ करोड ३५ लाख रुपैयाँ (अपरिष्कृत) खुद नाफा गरेको छ। आगामी ३ आर्थिक वर्षमा २०७७/७८ मा १३ करोड ५१ लाख, २०७८/७९ मा २० करोड ८२ लाख र २०७९/८० मा २६ करोड २६ करोड २८ लाख रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको छ।
अहिले औसत ४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी आगामी ३ वर्षभित्र १३ रुपैयाँ भन्दा बढी पुग्ने प्रक्षेपण गरिएको छ। अहिले प्रति सेयर नेटवर्थ ११२ रुपैयाँ रहेकोमा आगामी ३ वर्षभित्र करिब १४० रुपैयाँ पुर्याउने र नेटवर्थ प्रतिशत ९.४३ प्रतिशत पुग्ने कम्पनीको प्रक्षेपण छ।










