वीरगंज। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगंजबाट १ अर्ब ३६ करोड २९ लाख मूल्य बराबरका ४५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।
गत आवको ६ महिनाको तुलनामा चालु आवमा सङ्ख्याको आधारमा विद्युतीय सवारीसाधनको आयात ३३२ ले बढेको छ। चालु आवको ६ महिनामा विद्युतीय सवारीसाधनको आयातबाट मात्रै ८७ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै विद्युतीय सवारीसाधनको आयात बढेसँगै राजस्व संकलन पनि बढेको बताए।
गत आवको ६ महिनामा भने ३० करोड २६ लाख रुपैयाँ मूल्यका १२४ विद्युतीय जीप, कार र भ्यान आयात भएको थियो। ती सवारीसाधनको आयातबाट २४ करोड २९ लाख राजस्व संकलन भएको थियो।
वीरगंज नाका हुँदै चालु आवको ६ महिनामा ९३ करोड रुपैयाँ मूल्यका इन्धनबाट चल्ने ४३४ जिप, कार र भ्यान आयात भएको छ। ती सवारीसाधनको आयात हुँदा २ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
गत आवको ६ महिनामा भने १ अर्ब १७ करोड रुपैयाँ मूल्यका ५९२ इन्धनबाट चल्ने जिप कार र भ्यान आयात भएका थिए। गत आवको ६ महिनामा ती सवारीसाधनको आयातबाट ३ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। रासस











