काठमाडौं। आइपीओ बिक्री गरेर २०७५ पुस दोस्रो साता नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको आँखु खोला जलविद्युत कम्पनीले लगानीकर्तालाई अहिलेसम्म कुनै प्रतिफल वितरण गरेको छैन।
नेप्सेमा सूचीकृत भएको ७ वर्षसम्म लाभांश वितरण गर्न नसकेको हाइड्रोपावरले गत वर्ष भदौमा चुक्ता पुँजी ८० करोडको १.५ गुणाले १ अर्ब २० करोड रुपैयाँ हकप्रद सेयर बिक्रीबाट उठायो। हकप्रद सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छ।
कमजोर वित्तीय अवस्था र नाफा कमाउन नसकेको आँखु खोलाको सेयर मूल्यमा पछिल्लो केहीदिन यता नाटकीय रुपमा चमत्कार देखिएको छ।
नेप्से परिसूचक बुधबार ५.०८ अंकले बढ्दा आँखु खोलाको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो। यो कम्पनीको सेयर मूल्य प्रति कित्ता ३०४ रुपैयाँ पुगेको छ। कम्पनीको सेयर भाउ अहिलेसम्मकै सर्वाधिक भएको हो। पुस २९ गतेयता कम्पनीको सेयर मूल्य १० कारोबार दिनमा ९ दिन बढेको छ।
पुस २८ गते प्रति कित्ता २०० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य १० दिनमै १०४ रुपैयाँ बढेको छ।
बजारमा बुधबार ११ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच हुँदा कारोबार रकमका आधारमा आँखु खोला पहिलो नम्बरमा रह्यो। यो कम्पनीको सबैभन्दा धेरै ८३ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भयो।
लगानीकर्ताको हात रित्तो बनाएको तर सेयर मूल्य अस्वाभाविक रुपमा उचालिएको कम्पनी आँखु खोला मात्र होइन। कर्पोरेट डेभलपमेन्ट बैंक पनि फरक छैन।
अहिलेसम्म एक पटक जम्मा ५ प्रतिशत बोनस सेयर वितरण गरेको कर्पोरेटको सेयर मूल्य निरन्तर उकालो लागिरहेको छ। नाजुक वित्तीय अवस्था भएको बैंकको सेयरमा बुधबार पोजेटिभ सर्किट लाग्यो।
गत पुस ९ गते प्रति कित्ता १४५० रुपैयाँ रहेको कर्पोरेटको सेयर मूल्य एक महिनामै ७४६ रुपैयाँले बढेर बुधबार २१९६ रुपैयाँ पुगेको छ।
गत असारमा सेयर बजार बढ्दा कर्पोरेट डेभलपमेन्टको भाउ उचालेर प्रति कित्ता २८४२ रुपैयाँसम्म पुर्याइएकामा घटेर त्यसपछि १४३१ रुपैयाँसम्म झरेको थियो।
बजारमा अहिले फेरि कम्पनीको सेयर मूल्य उचाल्न थालिएको हो।
कर्पोरेटको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेकामा साधारण सेयरको हिस्सा ३० प्रतिशत मात्रै अर्थात १५ लाख ७५ हजार कित्ता हो।
बजारमा फाइनान्स, हाइड्रोपावर, विकास बैंक लगायत लोक्याप कम्पनीको सेयर भाउ चलखेल गरेर बढाउने गरिएको छ। यसमा ब्रोकर कम्पनीदेखि केही लगानीकर्ताको संलग्नता रहेको मर्चेन्ट बैंकरले बताउँदै आएका छन्।
तर नियामक नेपाल धितोपत्र बोर्डले चलखेलप्रति आँखा चिम्लिंदै आएको छ। नियमन शून्यप्राय: हुँदा चलखेलले निरन्तरता पाइरहेको हो। गत वर्ष कर्णाली डेभलपमेन्ट बैंक र नेपाल फाइनान्सको सेयर मूल्य अस्वाभाविक रुपमा उचालिएको थियो। महँगो मूल्यमा ती कम्पनीमा लगानीकर्ता नराम्री फसेका छन्।
वित्तीय अवस्था नाजुक भएर टाट पल्टिएको कर्णाली डेभलपमेन्ट नेपाल राष्ट्र बैंकको कारबाहीमा छ।










