काठमाडौं। सूर्यकुण्ड हाइड्रोपावरले सर्वसाधारणका लागि माघ १८ गतेदेखि सेयर निष्कासन गर्ने भएको छ।
वैदेशिक रोजगार र स्थानीयका लागि सेयर बाँडफाँट गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो।
हाइड्रोपावरले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँका दरले सर्वसाधारणका लागि ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ४३१ कित्ता सेयर छुट्याएको छ।
लगानीकर्ताले १० देखि ५० हजार कित्ता सेयरका लागि माघ २१ गतेसम्म आवेदन दिन सक्नेछन्।
सूर्यकुण्डले आफ्नो जारी पुँजी ६८ करोड ५६ लाख ७४ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने १३ करोड ७५ लाख ३५ हजार रुपैयाँको सेयर निष्कासन अनुमति पाएको छ।
आइपीओ निष्कािनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल छ। सूर्यकुण्ड हाईड्रो इलेट्रिक लिमिटेडले ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत् आयोजना निर्माण गरी व्यावसायिकरुपमा विद्युत उत्पादन गरिरहेको छ।
आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ छ। आयोजनाको प्रति मेगावाट लागत २१ करोड ५३ लाख १२ हजार रुपैयाँ छ। हाइड्रोपावरको साधारण लगानी फिर्ता हुने अवधि ७.७१ वर्ष छ।
माथिल्लो तादी खोला जलविद्युत आयोजनाले विद्युत उत्पादन गरेर गत साउनदेखि नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरिरहेको छ।
आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा छ। चालु आर्थिक वर्ष पहिलो त्रैमाससम्म कम्पनीको प्रति सेयर नेटवर्थ ९६.०५ र प्रति सेयर आम्दानी ५.०८ रुपैयाँ छ। यो अवधिमा सूर्यकुण्ड हाइड्रोपावर २ करोड १८ लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ।
यो आयोजनामा अपि पावरको सबैभन्दा धेरै ५९.६७ प्रतिशत सेयर छ। कम्पनीका अध्यक्ष संजिव न्यौपानेको नाममा १० हजार कित्ता सेयर छ।











