काठमाडौं। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका समूहले आफ्नो गतिविधि रोकेका छैनन्। पार्टी नेतृत्वले विशेष महाधिवेशन आवश्यक नरहेको बताइरहेका बेला मागकर्ता पक्षले काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रमको तयारीलाई निरन्तरता दिएका छन्।
मञ्च तयार भएको छ। सहभागी देशका विभिन्न जिल्लाबाट काठमाडौं आउने क्रम बढेको छ। भृकुटीमण्डपमा कांग्रेस नेता कार्यक्रताको भीड बढेको छ।

विशेष महाधिवेशनको माग गर्ने नेताहरूले पार्टीभित्र देखिएको आन्तरिक असन्तुष्टि, नेतृत्व चयनको प्रक्रिया र संगठनात्मक कमजोरीलाई सम्बोधन गर्न विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गर्दै आएका छन्। उनीहरूका अनुसार हालको केन्द्रीय नेतृत्वले पार्टी विधानको मर्मअनुसार काम गर्न नसकेको र तल्लो तहका कार्यकर्ताको आवाज सुन्ने संयन्त्र कमजोर भएको छ।

भृकुटीमण्डपमा भइरहेको तयारीलाई दबाबमूलक कार्यक्रमको रूपमा लिइएको छ। मागकर्ता समूहले कार्यकर्ता भेला, छलफल र अन्तरक्रियामार्फत विशेष महाधिवेशनको एजेन्डालाई थप सशक्त बनाउने रणनीति अपनाएको छ। उनीहरूले यो अभियान कुनै व्यक्ति वा गुटविरुद्ध नभई पार्टी सुदृढीकरणका लागि भएको दाबी गरेका छन्।

यता पार्टी नेतृत्व भने तोकिएको समयमा नियमित महाधिवेशन सम्पन्न भइसकेकाले विशेष महाधिवेशन आवश्यक नरहेको अडानमा छ। तर मागकर्ता समूह भने नेतृत्वको अडानप्रति असन्तुष्टि जनाउँदै आफ्नो अभियान जारी राख्ने बताइरहेका छन्। यसले नेपाली कांग्रेसभित्र आन्तरिक बहस र दबाब झन् तीव्र बन्दै गएको संकेत देखिन्छ।













