काठमाडौं। नेपाली केबल तथा सेटेलाइट च्यानल अपरेटरहरुले आजबाट इन्डियन प्रिमियर लिग (आइपीएल) को प्रसारण गर्ने भएका छन्।
सरकारले कात्तिक ८ गतेबाट लागु गरेको क्लिन फिड (विदेशी विज्ञापनरहित) का कारण अवरुद्ध बनेको 'स्टार स्पोर्टस १' को प्रसारण आजबाट सुरु भएको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए। यो च्यानलको प्रसारण एसडी गुणस्तरणमा मात्रै उपलब्ध हुने उनले बताए।
डिभाइन स्ट्रिम नेटवर्क प्रालिले स्टार स्पोर्ट्ससँग मिलेर नेपाली केबल तथा सेटेलाइट अपरेटरहरुलाई च्यानल वितरण गर्न लागको मेरो टिभीका प्रबन्ध निर्देशक प्रकाश घिमिरेले जानकारी दिए। सबै सेवा प्रदायकहरुले आइपी प्रविधि मार्फत् आजबाट आइपीएलको प्रसारण गर्न लागेको उनले बताए।
उनका अनुसार मेरो टिभीको च्यानल नम्बर ६०४ (स्काई नेटवर्क) मा आजबाट आइपीएल हेर्न सकिने छ। ‘यो अस्थायी समाधान मात्रै हो, दर्शकहरुले डिसहोमको च्यानल नं ६०० मा स्टार स्पोर्टस् हेर्न सक्नुहुन्छ,‘ आचार्यले भने।
यस्तै, स्टार नेटवर्कको एउटा मात्रै च्यानल प्रसारण हुन लागेकाले आइपीएलसँगै निकै चासो मानिएको इंग्लिस प्रिमियर लिगको प्रसारण बारे अहिलेसम्म टुंगो नलागेको घिमिरेले बताए।
सिम टिभीका ग्राहकहरुले आज साँझसम्म यो च्यानलको प्रसारण हेर्न सक्ने कम्पनीले जनाएको छ। अहिले चितवन, सिन्धुली र वीरगन्जमा मात्रै च्यानल सुचारु भएको कम्पनीले जनाएको छ।
सुबिसु केबलका अध्यक्ष सुधीर पराजुलीका अनुसार क्लियर टिभीका ग्राहकहरुले पनि स्टार स्पोर्टस् आजैबाट हेर्न सक्ने छन्। अबको एक साताभित्र यो च्यानललाई एचडी गुणस्तरमा प्रसारण गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
वर्ल्डलिंकका ग्राहकहरुले पनि आजैबाट नेट टिभीमार्फत् उक्त च्यानल हेर्न सक्ने नेट टिभीका सीइओ निरन राजभण्डारीले जानकारी दिए।