लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर १.१९ अर्बमा बिक्री, खरिद गर्ने दिनेश सिलवाल को हुन्?



बिजमाण्डू
२०८२ पुष १३ गते १८:४३ | Dec 28, 2025
लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर १.१९ अर्बमा बिक्री, खरिद गर्ने दिनेश सिलवाल को हुन्?


काठमाडौं। लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडबाट पाल्पाका गोपालप्रसाद पोखरेलको समूह बाहिरिएको छ।

Tata
GBIME
Nepal Life

प्रिमियम मूल्यमा सेयर बिक्री गरेर पोखरेलको समूह बाहिरिएको हो। लुम्बिनी मेडिकल कलेज सफ्टवेयर डेभपलर कम्पनी कोडावतारका अध्यक्ष दिनेश सिलवालले किनेको छ। सिलवालको एकल स्वामित्वको मायाहोल्ड प्रालिले सेयर किनेको हो।

पोखरेलको समूहले देवदह मेडिकल कलेज किनेपछि लुम्बिनीबाट बाहिरिनका लागि सेयर बिक्रीमा राखेको थियो।

मायाहोल्डले लुम्बिनी मेडिकल कलेजको ६७ प्रतिशत सेयर प्रति कित्ता ३०० रुपैयाँका दरले किनेको छ। मायाहोल्डले कुल ४१ लाख ९० हजार ७२६ कित्ता सेयर स्वामित्व लिएको हो। कम्पनीले सेयर किन्न कुल एक अर्ब १९ करोड ४३ लाख ५६ हजार ९१० रुपैयाँ खर्च गरेको छ।

लुम्बिनी मेडिकल कलेजमा करिब ३०० सेयरधनी थिए। सेयर बिक्रीपछि मायाहोल्डसहित ९० सेयरधनी कायम भएका छन्। कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार, ३०० मध्ये २१० को सेयर मायाहोल्डले किनेको छ।

पुराना सेयरधनीमा पोखरेल परिवारकै सदस्यहरु कायमै छन्। पुरानातर्फबाट ८९ जना सेयरधनी छन्।

पोखरेल समूह बाहिरिएपछि लुम्बिनी मेडिकल कलेजको अध्यक्षमा दिनेश सिलवाल चयन भएका छन्। प्रबन्ध निर्देशकमा डा. वलभद्र अधिकारी छन्। निर्देशकहरुमा निर्दोष खनाल, दिवेश लोहनी र गोविन्द गौतम उपाध्याय छन्।

पाल्पामा २०६२ मा स्थापित कलेजमा स्नातकोत्तर तह अन्तर्गत एमडी/ एमएस, स्नातक तह अन्तर्गत एमबीबीएस र बीएस्सी नर्सिङ पढाइ हुन्छ। कलेजले बहिरंग विभाग अन्तर्गत दैनिक ५०० भन्दा बढी बिरामीको उपचार गर्दै आएको छ। अन्तरंग विभाग अन्तर्गत ५०० शय्याबाट विशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको कलेजले जनाएको छ।

नयाँ लगानीकर्ता स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य शैक्षिक कार्यक्रम थप र विशिष्टिकृत सेवा थप गर्ने योजनामा छन्।

को हुन् दिनेश सिलवाल ?

लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर किनेका सिलवाल कोडावतारका अध्यक्ष हुन्। कोडावतार क्यानडा, अमेरिका लगायत मुलुकमा सफ्टवेयर बिक्री गर्दै आएको कम्पनी हो।

यो कम्पनीलाई सरकारले सूचना प्रविधिको क्षेत्रतर्फबाट सबैभन्दा बढी कर तिरेको भन्दै सम्मान समेत गरेको थियो। कम्पनीको कर्पोरेट अफिस कालोपुलमा छ। यो कम्पनीमा झण्डै दुई हजार जनाले काम गर्दै आएका छन्।

भारत, क्यानडा लगायत देशमा पनि कम्पनीको कार्यालय छ। सिलवालले पछिल्लो समयमा केही जलविद्युत आयोजनामा समेत लगानी गरेका छन्।

बेलायतबाट सूचना प्रविधिमा स्नातकोत्तर गरेका झापाका सिलवालले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका हुन्।

उनी बेलायतमा पढेर क्यानडा गएका थिए। ४० वर्षभन्दा कम उमेरका सिलवालले क्यानडाबाट फर्किएर नेपालमा कोडावतार खोलेका हुन्। सिलवाल कामना सेवा विकास बैंकका समेत मेजर सेयर होल्डर हुन्।