चितवन । १९ औँ संस्करणको ‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ सुरु भएको छ। क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा भइरहेको महोत्सव आजबाट सुरु भएको हो।
महोत्सव आजदेखि १३ गतेसम्म बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुनेछ। विसं २०५५ देखि सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवमा यस वर्ष हात्तीको शृंगार प्रतियोगिता, हात्तीको वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी दिनेलगायत कार्यक्रम गरिँदैछ।

महोत्सवले हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटक आगमन वृद्धि हुने गरेको आयोजकको दाबी छ। महोत्सवमा हुने गतिविधिले पर्यटन विकास बाहेक हात्तीको महत्त्व समेत उजागर गर्दै आएको आयोजकको भनाई छ।
प्रतियोगिताका विभिन्न गतिविधिमा निजी स्तरमा संचालित र सरकारी स्वामित्वमा रहेका गरि ६ वटा हात्ती सहभागी हुनेछन्। आयोजकले यो महोत्सवमा ७५ लाख खर्च हुने अनुमान गरेको छ।

साथै, महोत्सवको समयमा आएका पाहुनाका लागि क्षेत्रीय होटल संघ र रेवान सौराहामा आबद्ध सदस्यहरूले होटल तथा रेष्टुरेन्टमा आवास र खानामा १० प्रतिशत छुट गर्ने सहमति भएको जानकारी दिइएको छ।
महोत्सवमा विगतमा जस्तो हात्ती पोलो, हात्ती दौडजस्ता प्रतियोगिता भने नहुने भएको छ। पर्यटक आकर्षण गर्न हात्तीसम्बन्धी गतिविधि र हात्तीको महत्वले नै चितवनमा धेरै पर्यटक आउने गरेका आयोजकले बताएको छ।
हात्ती महोत्सवको उपलक्ष्यमा आज बिहान शोभा यात्रा निकालिएको थियो। जसमा स्थानीय थारु नृत्यसँगै विभिन्न झाँकी समेत प्रस्तुत गरिएको थियो।






















