काठमाडौं। पूर्वपञ्च कमल थापा चार वर्षपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा नै फर्किएका छन्।
चार वर्षअघि भएको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग २२७ मतले पराजित भएपछि त्यसको दोष पूर्वाराजा ज्ञानेन्द्र शाहलाई लगाउँदै राप्रपा नेपाल ब्युँताएका थापा बुधबार राप्रपामै फर्किएका हुन्। राप्रपा र राप्रपा नेपालले पार्टी एकताको सहमति गरेका छन्।
‘राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति गरेका छौं। एकता घोषणा सभा २०८२ पुस १६ गते राष्ट्रिय सभागृहमा हुनेछ’ भन्ने सहमतिपत्रमा लिङ्देन र थापाले हस्ताक्षर गरेका छन्।

सहमतिपत्रमा हस्ताक्षरपछि लिङ्देन र थापाले एकअर्कालाई अंकमाल गरेका थिए। राप्रपा नेपालको नाममा राजनीति गर्न नसकेपछि थापा बाध्य भएर पार्टी एकताको नाममा पुरानै घरमा फर्किएका हुन्।
२०७८ मंसिर तेस्रो साता भएको निर्वाचनमा पराजित भएपछि थापाले ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भर्त्सना गर्दछु,’ भन्दै राप्रपा परित्याग गरेका थिए।

















