काठमाडौं। विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी साधन (इभी) निर्मातामध्ये एक बीवाइडी (बिल्ड योर ड्रिम्स)ले अर्को माइलस्टोन पार गरेको छ।
कम्पनीले १ करोड ५० लाख न्यु इनर्जी भेहिकल उत्पादन पूरा गरेको छ। बीवाइडी १ करोड ५० लाख इभी उत्पादन गर्ने पहिलो गाडी निर्माता बनेको छ।
१ करोड ५० लाख गाडी उत्पादनले बीवाइडी इभीको दौडमा विश्वव्यापीरुपमा अग्रणी रहेको प्रमाणित गरेको छ।
सन् १९९५ मा स्थापित र २००३ मा अटोमोटिभ उत्पादनमा प्रवेश गरेको बीवाइडीले इभी उत्पादन निरन्तर वृद्धि गरेको छ।
कम्पनीले २०२४ को अन्त्यसम्म गाडी उत्पादन १ करोड पुर्याएकामा त्यसको ८ महिनामै थप ५० लाख इभी बजारमा ल्याएको हो।
यो संख्या टेस्ला र फक्सवागनले उत्पादन गरेभन्दा निकै धेरै हो। ती दुई कम्पनीले करिब १ करोड ११ लाख युनिट एनइभी उत्पादन गरेका छन्।

बीवाइडीका एट्टो ३, डल्फिन, एटो २, एटो १, सिलायन सेभेन, एम६ र सिल जस्ता गाडी अहिले नेपाली बजारमा बिक्री भइरहेका छन्। यी गाडी अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट प्रदर्शनका कारण नेपाली ग्राहकको रोजाइमा परिरहेका छन्।
बीवाइडीले ब्याट्री सिस्टम र टेक्नोलोजी, इलेक्ट्रिक पावरट्रेन र इन्टेलिजेन्ट ड्राइभिङ सिस्टमसहित आफ्ना सवारी साधन पोर्टफोलियोमा प्रविधि एकीकृत गर्न ध्यान केन्द्रित गरेको छ।











