टिकटक ओराकलको सुरक्षा सञ्जालमा, अमेरिकी बजारमा दीर्घकालीन सञ्चालन सुनिश्चित



बिजमाण्डू
२०८२ पुष ५ गते १२:५८ | Dec 20, 2025
टिकटक ओराकलको सुरक्षा सञ्जालमा, अमेरिकी बजारमा दीर्घकालीन सञ्चालन सुनिश्चित

चीनको कम्पनी भन्ने विवादमा परिरहँदा टिकटक अमेरिकामा नयाँ कम्पनी संरचनामा अघि बढ्ने भएको छ। अमेरिकी सरकारसँगको दीर्घकालीन द्वन्द्वको मूल्य चुकाउन कम्पनीले लगानी संरचना विविधीकरण गर्दै टिकटक यूएस नामको छुट्टै साझेदारी संरचनाको कम्पनी बनाउने तयारी गरेको हो।

Tata
GBIME
Nepal Life

नयाँ संरचनामा ओराकल, सिल्भर लेक र एमजीएक्स जस्ता अमेरिकी तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरू सहभागी हुनेछन्। उनीहरूले संयुक्त रूपमा ५० प्रतिशत स्वामित्व लिनेछन्, जबकि बाँकी हिस्सा बाइटडान्स र उसका पुराना लगानीकर्ताले राख्ने व्यवस्था छ।

यो मोडेलमार्फत टिकटकले अमेरिकाभित्र डेटासुरक्षा र राष्ट्रिय सुरक्षा सम्बन्धी अमेरिकी कानुन पूरा गर्ने दाबी गरेको छ। अमेरिकी प्रयोगकर्ताको डाटा ओराकलद्वारा सञ्चालित स्थानीय सर्भरमै राखिने भन्दै कम्पनीले अमेरिकामा सञ्चालन स्थिर रूपमा जारी राख्न सकिने आशा व्यक्त गरेको छ।

यसरी पुनःसंरचना गरेपछि टिकटकले ‘चिनियाँ कम्पनी’ भएको आरोपमा देखिएका राजनीतिक अवरोध घट्ने र प्लेटफर्मले अमेरिकामा दीर्घकालीन रूपमा कारोबार विस्तार गर्न सहज हुने संकेत दिएको छ।

पछिल्लो सम्झौताले अमेरिकाभित्र टिकटकको भविष्यबारे वर्षौं लामो अनिश्चितताको अन्त्य गरेको छ। कंग्रेसले टिकटकलाई बेचेमा मात्र अमेरिका संचालन गर्न दिने कडा कानुन पारित गरेपछि, प्लेटफर्म गत जनवरीको समयसीमामा बन्द हुने जोखिममा थियो। केही घण्टाका लागि यो वास्तवमै बन्द पनि भयो। तर राष्ट्रपति डोनाल्ड ट्रम्पले पदबहाल दिनमै एक कार्यकारी आदेश जारी गर्दै टिकटकलाई अस्थायी रूपमा चलिरहन दिने निर्णय गरे।

पछि पनि ट्रम्पले स्पष्ट कानुनी आधारबिना नै समयसीमा अप्रिल, जुन र सेप्टेम्बरमा तीन पटक बढाउँदै गए। एक चरणमा अमेरिका र चीनबीचको ट्यारिफ तनावले सम्भावित सम्झौता पनि भंग गरिदियो। अमेरिकामा टिकटकका प्रयोगकर्ता १७ करोडभन्दा बढी छन्। प्यु रिसर्च सेन्टरको अध्ययनअनुसार ३० वर्षमुनिका अमेरिकी वयस्कमध्ये करिब ४३ प्रतिशतले समाचारका लागि टिकटक नियमित रूपमा प्रयोग गर्छन्, युट्युब, फेसबुक वा इन्स्टाग्रामभन्दा पनि धेरै।

नयाँ टिकटक यूएस कम्पनीमा बाइटडान्ससँग १९.९ प्रतिशत हिस्सा रहनेछ। बाँकी ३०.१ प्रतिशत पुराना लगानीकर्तासम्बद्ध समूहले राख्नेछन्। एमजीएक्ससँग १५ प्रतिशत रहनेछ। टिकटक र ह्वाइट हाउस दुवैले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको समाचार संस्था एपीको रिपोर्टमा छ।