काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले भियतनाम चेम्बरसँग सहकार्य गर्ने भएको छ।
दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा महासंघका प्रतिनिधि र भियतनामका व्यवसायीसँग आर्थिक सन्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ।
भियतनामको राजधानी हनोइमा बिहीबार भएको छलफलमा महासंघका अध्यक्ष चन्द्र ढकालले भियतनामी चेम्बर अफ कमर्स इन्डष्ट्रीका प्रतिनिधिलाई नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायत क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको भन्दै लगानी ल्याउन आग्रह गरे।
उनले दुई देशबीच आर्थिक सहकार्य बढाउनुपर्नेमा जोड दिए। ‘दुई देशबीच आर्थिक सहकार्यको क्षेत्रमा ठूलो सम्भावना छ। नेपालबाट निर्यातको ठूलो सम्भावना छ,’ उनले भने, ‘नेपालका हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना भएकाले त्यसतर्फ पनि लगानी बढाउन म आग्रह गर्दछु।’
उनले दुई देशका अर्थतन्त्र एकआपसमा पूरक बन्न सक्ने पनि बताए। भियतनामका कृषि उत्पादन, सी फूड, इलेक्ट्रोनिक्सलगायतका उत्पादनको नेपाली बजारमा सम्भावना रहेको पनि उनको भनाइ थियो।
‘नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण बन्दै गएको छ। कानून पनि लगानीमैत्री छन्। लाइसेन्स, भन्सार र कर प्रशासनमा सुधार भएको छ। साथै विदेशी लगानीको सुरक्षामा पनि सरकार सचेत छ,’ उनले भने।
उनले नेपालमा होटल, रिसोर्ट, केबलकार, साहसिक पर्यटन, वेलनेस सेन्टरमा क्षेत्रीय लगानी बढिरहेको भन्दै भियतनामी लगानीकर्तालाई स्वागत गर्न चाहेको बताए। उनले भियतनामी टोलीलाई महासंघको आगामी वार्षिक साधारण सभामा सहभागी हुन र नेपालको व्यवसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्न निम्ता दिए।
भियतनामी चेम्बर अफ कमर्स इन्डष्ट्रीका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरु पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताए।
‘दुई देशबीच व्यापार र लगानीका क्षेत्रमा ठूलो सहकार्य छैन। यद्यपि यस क्षेत्रमा सहकार्यका लागि ठूलो सम्भावना छ। आगामी दिनमा सहकार्य बढाउन हामी इच्छुक छौं,’ उनले भने।











