काठमाडौं। लैनचौरस्थित नेपाल स्काउटको जग्गामा कांग्रेस नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्काले बनाएको लैनचौर ब्यांकेटका संरचना भत्काइएको छ। काठमाडौं महानगरपालिकाले डोजर लगाएर बिहीबार भत्काएको हो।
स्काउटको जग्गा भाडामा प्रयोग गर्दै आएका खड्काले लामो समयदेखि बक्यौता राखेका थिए। उनले राजनीतिक पहुँच प्रयोग गर्दै स्काउटको केन्द्रीय समितिलाई दबाबमा राखेका थिए। स्काउट स्रोतका अनुसार खड्काले भाडा र जरिवानासहित ७ करोड रुपैयाँ तिर्न बाँकी छ।
कात्तिक २० मा नेपाल स्काउटले सूचना जारी गर्दै भाडा चुक्ता गर्न सात दिनको म्याद दिएको थियो। उक्त म्याद सकिएकै दिन बिहानै महानगर प्रहरीको टोली एस्काभेटरसहित पुगेर ब्यांकेटका संरचना भत्काउन सुरु गरेको हो।

स्काउटले सूचना जारी गर्दा आफ्नो जग्गामा निर्माण गरिएका भवन र सामानहरु जफत गर्ने जनाएको थियो। त्यसबाट पनि भाडा असुल उपर नभए खड्काको जायजेथाबाट असुलउपर गर्ने चेतावनी दिएको थियो। सरकार परिवर्तनसँगै खड्का शक्तिहीन बनेको मौकामा स्काउटलाई महानगरले साथ दिएको हो।

















