काठमाडौं। जेनजी आन्दोलनमा व्यवसायिक संस्थामाथिको आक्रमणका बाबजुद पनि निजी क्षेत्रले उच्च मनोबल बनाएर उद्योग व्यवसाय अघि बढाउने दृढता देखाएका छन्।
‘हामीलाई पछाडि फर्किन छुट छैन। हामीले गर्ने भनेकै उद्योग व्यवसाय हो,’ राष्ट्रिय व्यवसायिक पहल(एनबीआई)मा सहभागी भएका उद्योगीले सामूहिक रुपमा भने, ‘सरकारले सुरक्षाको ग्यारेन्टी भने गर्नुपर्छ। हामी अझ उन्नत हिसाबले काम गर्न तयार छौं।’
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालका अध्यक्ष गणेश कार्कीले निजी लगानीको सुरक्षाको ग्यारेन्टी सरकारले गरेमा अझै उन्नत हिसाबले उद्योग व्यवसाय गर्न तयार रहेको बताए। ‘हामीलाई अब पछाडि फर्किने छुट छैन। त्यतातिर गएर पनि कुनै काम छैन,’ उनले भने, ‘अब उद्योग व्यवसायलाई पारदर्शी बनाउँदै अगाडि बढाउनुको विकल्प छैन।’
उनले संक्रमणकाललाई हटाएर स्थिरतातर्फ जानका लागि निर्वाचन पहिलो सर्त भएको बताउँदै त्यसतर्फ वातावरण बनाउन दबाब दिनुपर्ने धारणा राखे। नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य शिवप्रसाद घिमिरेले निजी क्षेत्रमाथिको आक्रमणले अकल्पनीय क्षति भएपनि उच्च मनोबल राखेर उद्योग व्यवसाय बढाउनुको विकल्प नरहेको बताए। ‘जुन हिसाबको क्षति भएको छ, त्यो क्षतिले हाम्रो मनोबल अत्यन्तै कमजोर छ। विश्वमै पनि गलत सन्देश गएको छ,’ उनले भने, ‘हामी उद्यम गर्नेसँग अर्को विकल्प छैन। जसरी भएपनि मनोबल बलियो बनाएर काम गर्नैपर्छ।’
उद्योगी पद्म ज्योतिले ध्वस्त भएका पूर्वाधार पुनर्निर्माण गर्न सकिने बताउँदै तर काम गर्ने मान्छेको आस्थामा कमी आउनु हानिकारिक हुने बताए। ‘कलकारखाना ध्वस्त भए बनाउन सकिन्छ। तर, त्यहाँ काम गर्ने व्यक्तिको विश्वास घटेर निराशा छाएमा त्यो ध्वस्त भएको संरचनाभन्दा धेरै गुना बढी हानिकारिक हुनसक्छ,’ उनले भने।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष भाष्करराज राजकर्णिकारले अर्थतन्त्र मन्दी रहेकै समयमा जेनजी आन्दोलनपछि निजी क्षेत्र थप कठिन मोडमा रहेको बताए।
नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले निजी क्षेत्रको भौतिक संरचनामाथि आक्रमणहुँदा मनोबल गिरेको बताउँदै जिम्मेवार नागरिक भएकाले उद्योग व्यवसायलाई अझै परिस्कृत रुपमा अगाडि बढाउने दृढता व्यक्त गरे। ‘निजी उद्योग प्रतिष्ठानमाथि भएको तोडफोडले मनोबल त गिरकै छ। तर हामी जिम्मेवार नागरिकका हैसियतले यो देशलाई अझै सबल बनाएर अघि बढ्न हामी जुट्नै पर्छ,’ उनले भने, ‘सँगै सरकार र राजनीतिक दलले पनि तरल राजनीतिक अवस्थाबाट निकाल्न निर्वाचनलाई जोड दिनैपर्छ।’
डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले निजी सम्पत्तिमाथि सुरक्षा नभएपछि विकल्पका बारेमा पनि बहस हुनु स्वभाविक भएको बताउँदै मुलुकप्रतिको जिम्मेवारीबाट पन्छिन नमिल्ने अवस्थालाई निजी क्षेत्रले बुझेको धारणा राखे। ‘निजी सम्पत्तिनै सुरक्षित नभएपछि अन्य विकल्पको विषयमा कुरा हुनु स्वभाविक हो। सुरक्षाको विषयलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मोहन कटुवालले कठिन परिस्थितिमा समेत निजी क्षेत्रले मनोबल उच्च राखेको बताउँदै अहिलेको संकटको समाधान भनेको निर्वाचननै रहेको जिकिर गरे।
‘जेनजी आन्दोलनले हामीलाई पनि केही परिस्कृत हुनुपर्छ भन्ने सन्देश दिएको छ। हामी देश र जनताप्रति जिम्मेवार हुनैपर्छ,’ उनले भने, ‘राज्य पनि आफ्नो दायित्वबाट विमुख हुन भएन।’ होटल संघ नेपालका अध्यक्ष विनायक शाहले जेनजी आन्दोलनको म्यान्डेट अनुसार सुशासन र भ्रष्टाचारमुक्त बनाउने रोडम्याप तयार पारेर अगाडि बढ्नुपर्ने बताए।
‘भूकम्पका बेलामा सरकारले पुनर्निर्माणको स्पस्ट रोडम्याप बनाएको थियो। अहिलेको सरकारले पनि सुशासन र भ्रष्टाचारको स्पस्ट रोडम्याप बनाउनुपर्छ,’ उनले भने, ‘त्यो भयो भने खेल्न खोज्ने तत्वहरु पनि निरुत्साहित हुन्छन्। हामीले पनि उद्योग व्यवसाय सहज रुपमा अगाडि बढाउन सक्छौं।’ नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामाले समयमा चुनाव गरेर राजनीतिलाई लिकमा ल्याउनुपर्ने बताए।
नेपाल विज्ञापन संघका अध्यक्ष सुदीप थापाले जेनजी आन्दोलनपछि उत्पादक र उपभोक्ताबीच पुलको काम गर्ने संचारमाध्यम र विज्ञापन व्यवसायी थप समस्यामा परेको धारणा राखे। कार्यक्रममा एनबीआईका अध्यक्ष कुशकुमार जोशीले उद्योगी व्यवसायीले गर्ने नाफालाई गलत दृष्ट्रिकोणबाट हेर्ने प्रवृत्तिका कारण निजी क्षेत्र निशानामा परेको धारणा राखे। उनले जेनजी आन्दोलनपछि मुलुक तरल रहेको भन्दै यसबाट वाहिर निस्किन शान्तिपूर्ण निर्वाचनमा सबैले ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे।











