आन्दोलनमा हजारौं सवारी क्षतिपछि बजारमा नयाँ गाडीको माग, तत्काल ३ अर्बको कारोबार हुने



शुक्र गिरी
२०८२ कात्तिक १२ गते १३:०६ | Oct 29, 2025
आन्दोलनमा हजारौं सवारी क्षतिपछि बजारमा नयाँ गाडीको माग, तत्काल ३ अर्बको कारोबार हुने

काठमाडौं। जेनजीको आन्दोलनका क्रममा थुप्रै सवारीसाधनमा क्षति भएको थियो। यसले एकातिर कबाडीमा गाडीको रास बढाएको छ भने अर्कातिर अत्यावश्यक देखिँदा बजारबाट नयाँ गाडीको माग हुने देखिएको छ। माग बढ्दा कतिको कारोबार हुन्छ भन्ने हिसाब अटो व्यवसायीले गरिरहेका छन्।

Tata
GBIME
Nepal Life

आन्दोलनमा भएको क्षतिका कारण अटो बजारमा एकैपटक सवारीसाधनको ठूलो माग हुनु स्वाभाविक पनि देखिएको हो। सरकारी र निजी गरी करिब १० हजार सवारीसाधन क्षति भएका थिए। जसकारण अटो व्यवसायीहरुले ठूलो माग सिर्जना हुने आकलन गरेका छन्।

जेनजीको आन्दोलनमा करिब ७ हजार दुईपाङ्ग्रे र करिब ३ हजार चारपाङ्ग्रे सवारीसाधन खरानी बनेका थिए। जलेका सवारीसाधनको संख्या धेरै भएकै कारण अब माग पनि त्यही संख्यामा हुने भन्दै अटो व्यवसायी ढुक्कजस्तै देखिएका हुन्।

नेपाल बीमा प्राधिकरणका अनुसार जेनजीको आन्दोलनका कारण क्षति पुगेका मध्येबाट २ हजार २७० वटा सवारीसाधनको बीमा दाबी परिसकेको छ। निजी सवारीसाधनमा भएको क्षतिमा ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको बीमा दाबी परेकामा इन्स्योरेन्स कम्पनीले ४७ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरिसकेका छ्न्।

यसबाहेक बाढी पहिरोमा परेर भएको क्षतिमा ४२ वटा मोटर बीमा दाबी परेको छ। निजी क्षेत्रले आगजनी र बाढी पहिरोमा परेर क्षति भएका सवारीसाधनको विकल्पमा तत्कालै नयाँ गाडी किन्ने अटो व्यवसायीको विश्वास छ।

हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले गाडीको बिक्री बढ्नेमा निश्चिन्त रहेको बताए।

‘निजी क्षेत्र र सरकारी निकाय दुवैका लागि गाडी नभइ हुँदैन। गाडी जलेको अवस्थामा नयाँ नकिन्नुको विकल्प नै हुँदैन,’ थपलियाले भने, ‘सरकारी निकायले जति किफायती हुने भने पनि सुरक्षा निकायको मोबिलिटी रोक्न मिल्दैन। अझ फागुनमा चुनाव गर्ने तयारी छ। त्यसैले गाडीको व्यापार बढ्नेमा हामी ढुक्क छौं।’

प्रहरीले ५०० वटा सवारीसाधन खरिदका लागि प्रस्ताव गरेकामा अर्थ मन्त्रालयले अहिलेका लागि २५१ वटा गाडी किन्न स्रोत सहमति दिइसकेको छ। प्रहरीले चालु आर्थिक वर्षको बजेटबाट ८७ वटा नयाँ सवारीसाधन किन्न यसअघि नै टेन्डर आह्वान गरिसकेको छ। यसले पनि तत्कालका लागि कुल ३३८ वटा नयाँ सवारीसाधन खरिद गर्दा पनि लगभग ३ अर्ब रुपैयाँको कारोबार हुने देखिन्छ। किनभने सुरक्षा निकायका लागि सिंगल वा डवल पिकअप आवश्यक पर्छ। जसको मूल्य केही महँगो हुने गर्छ।

यसका साथै जेनजीको आन्दोलनमा परेर जलेका सवारीसाधनको रिप्लेसमेन्ट गर्दा सरकारले ८० प्रतिशत ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको छ। जसले नयाँ सवारीसाधन खरिद गर्न ग्राहकहरुलाई सहज बनाउँछ।

सरकारले बीमा दाबी परेकाहरुको ५० प्रतिशत रकम अग्रिम भुक्तानी गर्ने व्यवस्था पनि मिलाएको छ।

जेनजी आन्दोनका क्रममा प्रभावित उद्योग, व्यापार तथा व्यासायिक प्रतिष्ठानको नोक्सान भएको व्यापार मौज्दातको बीमा नभएको हकमा सर्जमिन मुचुल्कासहितको मूल्यांकनका आधारमा सम्बन्धित करदाता स्वयंले सम्बन्धित आन्तरिक राजस्व कार्यलयमा जानकारी गराई आयकर ऐन, २०५८ बमोजिम व्यापार मौज्दातको लागत खर्च कट्टी तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम करकट्टी लिन सक्ने सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। जसले कम्पनीहरुलाई करकट्टीबाट बचेको पैसाले नयाँ सवारीसाधन खरिद गर्न सक्ने अवसर मिल्नेछ।

निजी सवारीको बीमा हुने हुँदा आगजनीमा आफ्ना साधन गुमाउनेलाई नयाँ किन्नका लागि खासै समस्या नहुने भए पनि सरकार भने अप्ठेरोमा परेको छ। सरकारी सवारीसाधनको बीमा छैन। त्यहीकारण अर्थमन्त्री रामेश्वर खनालले सकेसम्म पुरानै गाडीबाट काम चलाउन भनेका छन्।

‘सरकारले क्षति भएकै संख्यामा अहिले नयाँ गाडी खरिद गर्ने देखिंदैन। तर अत्यावश्यक गाडी किन्नैपर्छ। अहिले धेरै संख्यामा नकिने पनि चुनावपछिको सरकारले किनिहाल्छ नि,’ थपलियाले भने, ‘प्राइभेट सेक्टरमा क्षति बेहोरेकाहरुले नयाँ सवारीसाधन छिटो किन्ने देखिएको छ। जलेका गाडीमा पिकअपहरु धेरै छन्। त्यो सेगमेन्टमा बजार बढ्छ।’

आगजनीमा सवारीसाधन गुमाएका कतिपय त अतिआवश्यक परेको भन्दै नयाँ सवारी खरिदका लागि शोरुम जान थालिसकेका छन्।

यामाहाको आधिकारिक बिक्रेता मोरङ अटो वर्क्स (एमएडब्लु) इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपक अग्रवालले आगजनीमा बाइक गुमाएकाहरुले धमाधम नयाँ किन्न थालेको बताए।

‘अहिले अतिआवश्यक पर्ने त्यस्ता ग्राहक बाइक तथा स्कुटर खरिद गर्न आउन थालेका छन् जसलाई नयाँ सवारीसाधन खरिद गर्न बीमा रकम पर्खिरहनु पर्दैन। उनीहरुले धमाधम नयाँ बाइक लगिरहेका छन्,’ अग्रवालले भने, ‘सवारीसाधन रहर पूरा गर्ने साधन मात्र होइन, कामका लागि अनिवार्य हो। त्यसैले आगलागीमा सवारीसाधन गुमाउने सबैजसोले नयाँ किन्ने हुँदा हाम्रो व्यापार बढ्छ।’