नयाँ जीएसटीले भारतमा गाडीको मूल्य साढे तीन लाख भारुसम्म घट्यो, नेपाली बजारमा के होला?



बिजमाण्डू
२०८२ असोज २८ गते ०६:१२ | Oct 14, 2025
नयाँ जीएसटीले भारतमा गाडीको मूल्य साढे तीन लाख भारुसम्म घट्यो, नेपाली बजारमा के होला?

काठमाडौं। भारतमा जीएसटी २.० लागू भएपछि ‘इन्ट्री लेभल’का कारको मूल्य सस्तिन थालेको छ। जीएसटीमा परिवर्तनपछि सवारी बिक्रेता कम्पनीहरुले मूल्य घटाउन थालेका छन्। ब्रान्ड र सवारीसाधन अनुसार मूल्य साढे ३ लाख भारुसम्म घटाइएको छ।

Tata
GBIME
Nepal Life

नयाँ करले साना कार, ३५० सीसीसम्मका मोटरसाइकल र विद्युतीय सवारीसाधन किन्न चाहनेलाई फाइदा हुने भएको छ।

सेप्टेम्बर अन्तिमदेखि लागू नयाँ जीएसटीले भारतमा उपभोगलाई प्रोत्साहन गर्ने र विलासिताका वस्तु प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य राखेको छ।

यसले अटोमोबाइल क्षेत्रमा सेगमेन्ट अनुसार राहत दिएको देखिन्छ। जीएसटीका कारण साना सवारीसाधन सस्तो हुन थालेका छन्।

भारतमा इन्ट्री लेभलका गाडी र ३५० सीसी मुनिका बाइक सस्तो हुन थालेका हुन्। साना कारमा पहिलेदेखि लाग्दै आएको २८ प्रतिशतको सट्टा १८ प्रतिशत मात्र कर लागू गरिएको छ। जसले गर्दा गाडीको मूल्य औसतमा १० देखि १२ प्रतिशतसम्म सस्तो हुने अनुमान गरिएको छ।

३५० सीसीसम्मका मोटरसाइकलको करको दर २८ प्रतिशतबाट घटेर १८ प्रतिशत भएको छ। यसले इन्ट्री लेभल र कम्युटर बाइकलाई थप किफायती बनाएको छ। ३५० सीसीभन्दा माथिका मोटरसाइकलको करको दर भने २८ प्रतिशतबाट बढाएर ४० प्रतिशत बनाइएको छ। जसले प्रिमियम सुपरबाइकलाई महँगो बनाएको छ।

विलासी कार तथा एसयूभी उपकरणमा २८ प्रतिशत र थप १५-२२ प्रतिशत कर रहेकामा त्यसलाई एकमुष्ट ४० प्रतिशत बनाइएको छ। जसले प्रिमियम गाडीको मूल्य निर्धारण सहज भएको छ। यसले गर्दा टप इन्ड रेन्ज रोभर भी८ को मूल्यमा नयाँ जीएसटी लागु भएपछि ३० लाख रुपैयाँसम्म कम भएको छ। साथै फरारी जस्ता हाइ-इन्ड गाडीको मूल्यमा ५० लाख रुपैयाँसम्म सस्तो भएको छ। सरकारले यो सेगमेन्टमा लाग्ने उपकरका दरहरु हटाएको छ।

यसरी आयतितलाई प्रोत्साहन गरिँदा आर्थिक वृद्धिका लागि राम्रो कदमका रुपमा लिएको छ। तर यसरी आयातितलाई प्रोत्साहन गर्दा ‘डोमेस्टिक ब्रान्ड’ प्रति समस्या पर्ने केही अटो व्यवसायीहरुको भनाइ छ।

ट्र्याक्टर र कृषि उपकरणहरुमा करको दर घटाइएको छ। ट्र्याक्टरमा कर १२ प्रतिशतबाट ५ प्रतिशतमा झारिएको छ। यसले किसानको खर्च घटाउनेछ र ग्रामीण मागलाई बढावा दिनेछ।

ठूला र विलासिताका गाडीमा ४० प्रतिशतसम्म कर लगाइएको छ। व्यापारिक तथा विशेष सवारीसाधनमा पनि करको दर घटाइएको छ। बस, ट्रक, एम्बुलेन्स, दमकल र क्रेनजस्ता व्यापारिक तथा विशेष सवारीसाधनमा यसअघि २८ प्रतिशत कर लाग्दै आएकामा अब १८ प्रतिशतमा झारिएको छ। यसले फ्लीट तथा सेवा संचालन खर्च कम गर्नेछ। कर घटाइएका कारण यो सेगमेन्टमा माग बढ्ने विश्वास छ।

विद्युतीय सवारीसाधनमा ५ प्रतिशतको सहुलियत दर यथावत् राखिएको छ। हाइ इन्ड विलासी सम्पत्ति जस्तै याट तथा निजी विमानमा करको दर २८ प्रतिशतबाट बढाएर ४० प्रतिशत पुर्‍याइएको छ। जसले गर्दा हाइ इन्ड पोप्रटी झन महँगो बनाएको छ।

महिन्द्राले नयाँ जीएसटी लागू भएपछि आफ्ना केही मोडेलमा मूल्य भारु १ लाख ५६ हजारसम्म घटाएको छ। टाटा मोटर्सले पनि आफ्ना कारको मूल्य भारु १ लाख ४५ हजारसम्म घटाइएको घोषणा गरेको छ। हुन्डाईले विभिन्न मोडलमा भारु २ लाख ४० हजारसम्म मूल्य कटौती गरेको छ।

यस्तै मारुती सुजुकीले भारु १ लाख १० हजारसम्म मूल्य घटाएको छ। साथै टोयोटाले पनि मोडल अनुसार भारु ३ लाख ५० हजारसम्म मूल्य घटाएको छ।

नेपालमा असर पर्छ ?

भारतीय बजारमा गाडीको मूल्य घटे पनि नेपालमा भने भाउ नघट्ने व्यवसायीहरुले बताएका छन्। फोर्ड गाडीको बिक्रेता जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भारतले निर्यातका लागि नभइ आन्तरिक बजारमा मात्र नयाँ जीएसटी लागू गरेका कारण नेपाल भित्रिने सवारीसाधनको मूल्य नघट्ने बताए।

‘नयाँ जीएसटीपछि भारतमा सवारी उत्पादकहरुले भाउ घटाउन थालेका छन्। तर नेपालमा भने मूल्य घट्दैन किनभने नयाँ जीएसट निर्यातमा लागू हुँदैन,’ गोल्छाले भने, ‘नेपालमा आउने सामानमा जीएसटी लाग्दैन। तर यसले ग्रे मार्केट फस्टाउने डर हुन्छ। यसलाई सरकारले टाइट गर्नुपर्छ। सरकारले प्राइसिङ घटाउने कुरा भएन। त्यसैले सरकारले सिमानामा अब झन कडाइ गर्नुपर्ने हुन्छ।’

नयाँ जीएसटीले स्पेयर पार्ट्सको मूल्य पनि भारतमा सस्तो बनाउने छ। स्पेयर पार्ट्समा १२ प्रतिशतसम्म लाग्दै आएको जीएसटी घटाएर ५ प्रतिशत कायम गरिएको छ।

यसले नेपालमा ग्रे मार्केट अझै मौलाउने व्यवसायीहरु बताउँछन्। उनीहरुका अनुसार नयाँ जीएसटीले नेपालमा भन्दा भारतमा मूल्य कम भएकाले तस्करी बढ्ने सम्भावना रहन्छ।