काठमाडौं। ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैकबाट रुपैयाँ तुरुन्त पाइने छ’ यो हरेक नोटमा लिएको छ।
त्यसो त नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली २०५९ मा पनि नोट सटही गर्ने कानुनी व्यवस्था रहेको छ। त्यसका लागि राष्ट्र बैंकले तोकेको केही सर्त पुरा हुनुपर्ने हुन्छ।
तर, जेनजीको प्रदर्शनपछि च्यातिएका, जलेका र धुवाँ लागेका नोटहरू सजिलै साटिन छोडेका छन्। अहिले यस्ता नोट लिएर मानिस विभिन्न बैंक तथा वित्तीय संस्थामा पुग्ने गरेका छन्। तर अहिले प्रहरी र प्रशासनको सिफारिस बिना यस्ता नोट साट्न मुस्किल भएको छ।
जेनजीको प्रदर्शनको क्रममा धेरै नेता, कर्मचारी, व्यापारीका निजी तथा व्यापारिक प्रतिष्ठानमा आगजनी भएको छ। घरभित्र रहेका सामानसँगै नगद समेत जलेका छन्। तर कसको घर र व्यवसायमा कति नगद जले भन्ने यकिन छैन। जुन कठिन पनि देखिएको छ।
सामाजिक सञ्जालमा भाइरल भएका भिडियोमा आगजनी भएका घर तथा भवनबाट रकम लगेको देखिएको छ। त्यस्तै विभिन्न बैंक तथा वित्तीय संस्थाबाट पनि आगजनी पछि रकम चोरी भएका छन्। चोरीभएका नोटहरू बजारमा पुग्ने सम्भावना देखिएको छ। बैंकमा अहिले जलेका, च्यातिएका र धुवाँ लागेका नोट पुग्दा सजिलै साटिन छोडेका छन्।
‘धुवाँ लागेका र जलेका नोट प्रशासन र स्थानीयको सिफारिस बिना साटिएका छैनन्। यो व्यवस्था नै छ। अहिलेको अवस्था थप केही आउँला,’राष्ट्र बैंकका सह प्रवक्ता सुमन न्यौपानेले भने।
जथाभाबी कोरिएका र शङ्का लागेका नोट राष्ट्र बैंकले खिच्न समेत अधिकार रहेको छ। जेनजीको प्रदर्शनमा धेरै नोट जलेका छन्। प्रहरीले अहिले निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र चोरी गर्नेलाई खोजी रहेको छ।
ठुलो मात्रमा यस्ता जलेका र धुवाँ लागेका नोट बैंकमा पुगेको खण्डमा र शङ्का लागे नजिकको प्रहरीलाई खबर गर्न समेत प्रहरीले अनुरोध गरेका छ। नेपाल प्रहरीको सीआइबीले अहिले अनुसन्धान गरिरहेको छ।
‘शङ्का लाग्छ र यदि कसैले ठुलो मात्रमा जलेका र धुवाँ लागेको नोट ल्याउँछ भने सीआइबी वा नजिकको प्रहरीलाई खबर गर्न अनुरोध छ,’सीआइबीका एसएसपी होबेन्द्र बोगटीले भने।
यदि जलेका नोटको धनी आफैँ भए उनले सिफारिस बनाउन मुस्किल छैन। तर, चोरी र लुटपाट गरेका मानिसलाई सिफारिस बनाउन गाहो देखिन्छ। त्यस्तै गलत तरिकाबाट घरमा रकम राख्ने र जेनजीको प्रदर्शनमा नगद धुवाँ लागेको भए जान सक्ने अवस्था रहँदैन।










