टीका लगाएर ट्रेकिङ जाँदै हुनुहुन्छ? मौसमको जानकारीसँगै यी कुरामा ध्यान दिनुस्



बिजमाण्डू
२०८२ असोज १५ गते १७:४१ | Oct 1, 2025
टीका लगाएर ट्रेकिङ जाँदै हुनुहुन्छ? मौसमको जानकारीसँगै यी कुरामा ध्यान दिनुस्
File Photo


काठमाडौं । दसैंको लामो बिदामा ट्रेकिङ (पदयात्रा ) जाने अहिले ट्रेन्ड नै चलेको छ। भ्रमणको उपयुक्त मौसम र समय सेप्टेम्बर, अक्टोबर नै रहेकोले ट्रेकिङ जाने आन्तरिक तथा बाह्य पर्यटकहरू यही बेला धेरै हुन्छन्।

Tata
GBIME
Nepal Life

कोही दसैं बिदा सुरु भएसँगै हिँडेका छन् त कोही टीका लगाएर हिँड्ने तरखरमा छन्।

ट्रेकिङ वा हाइकिङ जाँदा फरक अनुभूति मात्रै नभई शरीर स्वस्थ रहने, आत्मविश्वास बढ्ने, सहरको कोलाहलबाट केही समयका लागि मन शान्त पनि हुन्छ।

ट्रेकिङका लागि खासगरी उच्च पहाडी र पहाडी क्षेत्र, वनजंगल तथा नदी, पोखरी तथा ताल र पाटनहरूमा जाने गरिन्छ। यस्ता ठाउँमा ट्रेकिङ जाँदा धेरैलाई छुट्टै आन्नद महसुस हुन्छ। अहिले ट्रेकिङमा युवाको रुचि बढ्दै जाँदा पर्यटन प्रवर्धनमा समेत सहयोग पुगिरहेको छ।

सम्बन्धित समाचार : दसैं बिदामा हाइकिङ जान सकिने यी हुन् काठमाडौं उपत्यका नजिकका ९ गन्तव्य

तर, धेरैलाई ट्रेकिङ जाँदा कस्तो तयारी गर्नुपर्छ भन्नेबारे जानकारी नहुन सक्छ। अझ पहिलो पटक ट्रेकिङ जाने सोच्नेहरू त अलमलमा नै पर्छन्।

ट्रेकिङ जाने सोख प्राय सबैको हुन्छ। तर, ट्रेकिङको बारेमा सुन्दा जति रोमाञ्चक लाग्छ वास्तवमा यो असहज र जोखिमपूर्ण पनि बन्न सक्छ। त्यसैले ट्रेकिङ जाने तयारी गर्दा धेरै कुराहरूमा ख्याल राख्नुपर्छ।

त्यसैले यो दसैंमा ट्रेकिङ जाने सोच्नु भएकाहरूका लागि के-के आवश्यक पर्छ? के-के कुरामा ध्यान दिनुपर्छ? भन्नेबारेमा जानकारी दिन यो सामग्री तयार पारेका छौं।

मौसमबारे पूर्व जानकारी लिने

नेपालको भौगोलिक वनावट फरक-फरक भएकोले कतिपय ठाउँमा छिन-छिनमै मौसम परिवर्तन भइरहन्छ। त्यसमा पनि ट्रेकिङ जाने भनेको हिमाली र पहाडी क्षेत्र हो। यो क्षेत्रमा झनै छिटो मौसम परिवर्तन हुने गर्छ।

त्यसैले पनि मौसमसम्बन्धी पूर्वजानकारी लिएर मात्र ट्रेकिङमा जानुपर्छ। जसले गर्दा सम्भावित प्रतिकूल परिस्थितिबाट बच्न सकिन्छ ।

यसपटक टीकाको भोलपल्ट एकादशीदेखि भारी वर्षा हुन सक्ने जनाइएको छ। जसकारण मौसमको अवस्था हेरेरमात्र निस्किँदा राम्रो हुन्छ।

स्वास्थ्यमा ध्यान दिने

ट्रेकिङ जान शारीरिक रूपमा पूर्ण स्वस्थ भए सहज हुन्छ। शारीरिक रूपमा अस्वस्थ हुँदा ट्रेकिङ अनुभव नरमाइलो बन्न सक्छ।

ट्रेकिङको तयारी स्वरुप ट्रेकिङ जानुअघि ‘मर्निङ वाक’ वा नजिक कुनै स्थानमा हाइकिङ जानु अझ राम्रो हुन्छ। यसले शरीरलाई केही हदसम्म ट्रेकिङको अप्ठ्यारो परिस्थितिका लागि तयार पार्छ।

ट्रेकिङ जानुभन्दा एक साताअघि सामान्य ‘एक्सरसाइज’ गर्दा शरीर फुर्तिलो हुन्छ। जसले ट्रेकिङका लागि फाइदा पुर्‍याउँछ। कतिपयलाई प्रेसर, मधुमेहजस्ता रोग हुन सक्छ। यसका लागि खानपिनमा विशेष ध्यान दिनुपर्छ।

खासगरी, उच्च हिमाली क्षेत्रमा जाँदा लेक लाग्ने (अल्टिच्युड सिकनेस) लगायत अन्य विभिन्न स्वास्थ्य समस्या देखिन सक्छ। मौसमका कारण पनि स्वास्थ्यमा समस्या आउन सक्छ। त्यसैले लेक नलाग्ने औषधि, पारासिटामोल र जीवनजल जस्ता सामान्य ओषधिहरू साथमा लैजानु पर्छ।

सम्बन्धित : दसैंमा पोखरी वा ताल भएका ठाउँ घुम्न जाने सोच्दै हुनुहुन्छ? यी हुनसक्छ उपयुक्त गन्तव्य

चाहिने सामान मात्र बोक्ने

ट्रेकिङ अवधिभरका लागि चाहिने सरसामानहरू आफैँ ट्रेकिङ ब्यागमा बोकेर लैजानु पर्छ। ५ देखि १२ दिनको ट्रेकिङ गर्दा ३५ देखि ६० लिटरसम्मको झोला आवश्यक पर्छ । अनावश्यक सामान राखेर झोला भारी पनि बनाउनु हुँदैन। तौल धेरै भएको झोला बोक्न कठिन हुन्छ ।

ट्रेकिङका लागि चाहिने विशेष जुत्ता, टोपी, चस्मा, लठ्ठी, पानीको बोतल, सनब्लक क्रिम, बडिलोसन, पावरबैंक, टर्च, दाँत माझ्ने ब्रस र मंजन तथा चक्कु लगायतका सामान अनिवार्य लानुपर्छ। यसबाहेक हलुका लुगा, ज्याकेट, उनको कपडा र मोजा पनि लैजान आवश्यक छ। अग्लो तथा चिसो स्थानमा ट्रेकिङ जाँदा ‘डाउन ज्याकेट’ अनिवार्य रुपमा बोक्नुपर्छ।

तयारी स्न्याक्सहरू बोक्ने

ट्रेकिङमा जाँदा पकाउन नपर्ने तयारी खानेकुराहरू बोक्नु पर्छ। किनभने ट्रेकिङ जाने ठाउँहरू धेरै दुर्गम क्षेत्र हुन्छन्। त्यसैले त्यहाँ जतिखेर भन्यो त्यतिखेर खानेकुराहरू नपाइन पनि सक्छ।

तयारी खानेकुरा लैजाँदा भोक लागेको समयमा त्यसलाई खान सकिन्छ।

आफ्नो झोलामा चाउचाउ, बिस्कुट, चिप्स, कुकिज, चकलेट जस्ता खानेकुराहरू साथमा बोक्नु पर्छ। अथवा त्यसको सट्टामा फलफूल, भुटेको मकै र भटमास लगायतका स्वस्थ खानेकुराहरू पनि लैजान सकिन्छ। साथै, खानेकुरा स्वच्छ भए नभएको पनि ख्याल गर्नुपर्छ। किनकी ट्रेकिङको समयमा बिरामी भएको खण्डमा यसले पूरै अनुभवलाई खल्लो बनाउँछ।