काठमाडौं। दसैंमा काठमाडौंमै हुनुहुन्छ र बिदाको सदुपयोग गर्न हाइकिङ जाने सोच्दै हुनुहुन्छ भने तपाईँका लागि धेरै विकल्प छन्। हाइकिङ जान छोटो दुरीमा रहेका उपयुक्त केही गन्तव्यहरू हामीले छनोट गरेका छौं।
विशेष गरेर प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, डाँडाकाँडा, वनपाखामा रम्न चाहनेहरूका लागि काठमाडौं नजिकै धेरै ठाउँहरु छन्, जहाँ हाइकिङका लागि जान सकिन्छ।
जामाचो
जामाचो शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्छ। काठमाडौं-बालाजु बाइपासबाट करिब साढे २ घण्टामा त्यहाँ पुग्न सकिन्छ। बालाजु बाइपासबाट सार्वजनिक यातायात वा निजी सवारीसाधनमा फूलबारी गेट पुगेपछि जामाचो हाइकिङ सुरु हुन्छ।
फूलबारी गेटबाट साढे ४ किलोमिटरको ठाडै उकालो हिडेपछि जामाचो पुग्न सकिन्छ। त्यहाँ जान १०० रुपैयाँ टिकट काट्नु पर्छ।
जामाचो गुम्बाबाट काठमाडौं उपत्यका प्रष्ट देखिन्छ भने मौसमले साथ दिएको खण्डमा यहाँबाट थुप्रै हिमश्रृंखलाहरूको पनि अवलोकन गर्न सकिन्छ।
चम्पादेवी
चम्पादेवी काठमाडौं र मकवानपुरको सिमानामा पर्छ। समुद्री सतहदेखि २ हजार २७८ मिटरको उचाइमा रहेको चम्पादेवी जान २ वटा रूट छ।
फर्पिङ-चम्पादेवी-भष्मासुर-चन्द्रगिरी लामो रूट हो। यो रुट प्रयोग गर्दा पुरै दिन खर्च हुन्छ।

चम्पादेवी जान अर्को मार्ग हो कीर्तिपुर-मच्छेगाउँ-चम्पादेवी। यहाँबाट करिब ५ घण्टामा चम्पादेवी हाइट पुगिन्छ।
गन्तव्यमा पुगेपछि गौरीशंकर, लाङटाङ र अन्नपूर्ण लगायत हिमशृंखला देख्न सकिन्छ । सोही रूट हुँदै फर्किन पनि सकिन्छ भने चम्पादेवीबाट हात्तीवन जाने रूट भएर फर्कन पनि सकिन्छ। यो छोटो रूट हो।
बेथानचोक
काभ्रेमा अवस्थित बेथानचोक काठमाडौं नजिकको हाइकिङ गन्तव्य हो। काठमाडौंबाट ५५ किलोमिटर र धुलिखेलबाट २५ किलोमिटर टाढा काभ्रेको दक्षिणी भागमा रहेको बेथानचोक पछिल्लो समय हाइकिङका लागि चर्चित गन्तव्य बनेको छ।
काठमाडौंबाट सिधा बसयात्रा वा काभ्रेको स्थानीय बसबाट ढुङखर्क पुगिन्छ। ढुङखर्कबाट बेथानचोक, नारायणथान पहाडको टुप्पोसम्म करिब ५ घण्टाको हिँडेपछि पुगिन्छ।
यहाँ एक दिनमै पुगेर काठमाडौं फर्किन पनि सकिन्छ भने एक रात बेथानचोकमै बसेर सूर्योदय हेरेर भोलिपल्ट फर्कन पनि सकिन्छ।
बल्थली
काभ्रेकै बल्थली पनि हाइकिङका लागि उपयुक्त गन्तव्यमा हो। यो समुद्री सतहदेखि १ हजार ७०० मिटरको उचाइमा छ।
यहाँबाट थुप्रै हिमश्रृंखलाहरू देख्न सकिन्छ। काठमाडौंबाट लगभग ४० किलोमिटरको दूरीमा रहेको बल्थली पुग्न खोपासीबाट कच्ची सडक हुँदै जानुपर्छ।
खोपासीबाट साढे ३ किलोमिटर दूरीमा रहेको बल्थली एक घन्टा पैदल यात्रामा पुगिन्छ। बल्थली हाइकिङ, बाइकिङ र साइक्लिङका लागि उपयुक्त मानिन्छ।

फूलचोकी
ललितपुरमा पर्ने फूलचोकी काठमाडौं उपत्यकाकै अग्लो डाँडा हो। समुद्री सतहदेखि २ हजार ८०० मिटरको उचाइमा रहेको फूलचोकी काठमाडौंदेखि १८ किलोमिटरको दुरीमा छ।
काठमाडौंबाट गोदावरीसम्म बसमा अथवा निजी सवारीसाधनमा गएर गोदावरीबाट यहाँको हाइकिङ यात्रा सुरु हुन्छ। त्यहाँबाट फूलचोकी जाने दुई बाटो छन्, नौधाराबाट जंगलको ठाडो बाटो र कुण्डबाट कच्ची मोटर गुड्ने बाटो।
फर्किंदा जुन बाटो गएको हो त्यही बाटो नै प्रयोग गर्नुपर्छ।
तारेभीर
काठमाडौंको उत्तरी क्षेत्र बुढानीलकण्ठस्थित देउवाचोकबाट तारेभीर हाइकिङ जान सकिन्छ। साथै गोकर्णस्थित निजामती शहीद स्मृति पार्क र गोकर्णेश्वर महादेव मन्दिरबाट सुन्ताखान गाउँ हुँदै उकालो लाग्दा पनि तारेभीर पुग्न सकिन्छ।
यो बाटो ३ घण्टामा त्यहाँ पुग्न सकिन्छ। काठमाडौंदेखि तारेभीर १५ किलोमिटरको दुरीमा पर्छ।
यहाँबाट देखिने काठमाडौं उपत्यकाको चारैतिरको सुन्दर दृश्यले जो कोहीको मन लोभ्याउँछ। त्यहाँ सूर्यास्तको दृश्य हेर्न पनि थुप्रै मानिस जाने गर्छन्।

सुन्दरीजल
सुन्दरीजल पनि शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्छ। यो काठमाडौंबाट १४ किलोमिटर उत्तरतर्फ छ।
सुन्दरीजलबाट मूलखर्क हुँदै ओख्रेनी जाने र चाँगुनारायणबाट सुन्दरीजल आउने चल्तीको हाइकिङ रुट छ। सुन्दरीजलबाट शिवपुरी वा नगरकोट हाइकिङ पनि गर्न सकिन्छ।
मूलखर्कबाट सिन्धुपाल्चोकको चिसापानी हुँदै झुले जाने अर्को हाइकिङ ट्रेल पनि छ। त्यसका लागि एक रात चिसापानीमा बस्नुपर्छ।
सुन्दरीजल रुटमा रहेको रमणीय दृश्यका साथै नेपालको दोस्रो पुरानो जलविद्युत् आयोजनाका लागि पनि लोकप्रिय छ।
चिसापानी
चिसापानी काठमाडौं उपत्यका नजिकैको अर्को हाइकिङ रुट हो। यो पदयात्रा काठमाडौंको सुन्दरीजलबाट सुरू हुन्छ। काठमाडौंबाट सुन्दरीजल शिवपुरी राष्ट्रिय निकुञ्जतर्फ सामान्यतया ५ घण्टाको उकालो हिँडेपछि चिसापानी पुग्न सकिन्छ।
चिसापानी यात्रा २ दिनमा गर्न सकिन्छ। पहिलो दिन काठमाडौंबाट चिसापानी र दोस्रो दिन चिसापानीबाट नगरकोट हुँदै काठमाडौं यात्रा गर्न सकिन्छ।
मणिचुड
मणिचुड हाइकिङको मुख्य आकर्षण मणिचुड दह हो। काठमाडौंबाट मणिचुड हाइकिङका २ वटा रूट छन्।
सार्वजनिक वा निजी सवारीमार्फत साँखुसम्म पुग्न सकिन्छ। त्यहाँबाट दुई किलोमिटर परको बज्रबाहिनी मन्दिर पुगेपछि सुरू हुन्छ मणिचुड हाइकिङ।
अर्को चाबहिल-थली-इन्द्रायणी चोक हुँदै गागलफेदी बाट पनि मणिचुड जान सकिन्छ। साँखु वा गागलफेदी जुन रूटबाट गए पनि हुन्छ।
मणिचुडबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, स्वयम्भू डाँडा, मनोहरा नदीको बायाँतिर भक्तपुरको दृश्य र महामञ्जुश्री डाँडा देख्न सकिन्छ।

हाइकिङ जाँदा यी कुराहरूमा दिनपर्छ ध्यान
हाइकिङ जाँदा प्राथमिक उपचार सामाग्री (फर्स्ट एड किट), चक्कु, लाइटर वा सलाई, टर्च, डोरी, सामान्य औषधि, खानेकुरा, पानी लगायत अत्यावश्यक सामाग्री बोक्ने गर्न पर्छ। जथाभावी फोहोर फाल्न हुँदैन।
जंगली जनावरसँग निजक हुनु हुँदैन। हाइकिङ जानुअघि त्यस दिनको मौसमका बारेमा राम्ररी बुझ्नुपर्छ।
तयारी खानेकुराहरू र पर्याप्त पानी बोक्नुपर्छ। ह्याट वा क्याप, चस्मा र हिँड्न सजिलो हुने जुत्ता लगाउनुपर्छ। मौसमअनुसारको ज्याकेट बोक्न भुल्नु हुँदैन।











