नाडालाई महासंघमा लाने योजनामा तत्कालका लागि ब्रेक, विशेष साधारण सभा रोक्न प्रशासनको पत्र



बिजमाण्डू
२०८२ भदौ १७ गते ११:४७ | Sep 2, 2025
नाडालाई महासंघमा लाने योजनामा तत्कालका लागि ब्रेक, विशेष साधारण सभा रोक्न प्रशासनको पत्र
नाडाका अध्यक्ष करण चौधरी

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई महासंघमा लाने योजनामा तत्कालका लागि ब्रेक लागेको छ। नाडालाई महासंघमा लाने प्रस्ताव पारित गर्न बोलाइएको विशेष साधारण सभा तोकिएको मितिमा नहुने भएको छ।

Tata
GBIME
Nepal Life

विशेष साधारण सभा स्थगित गर्न स्थानीय प्रशासनले निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाडालाई विशेष साधारण सभा स्थगित गर्न निर्देशनसहित विशेष साधारण सभा बोलाउनुको कारणबारे जवाफ मागेको छ।

विशेष साधारण सभा बोलाउन गरिएको निर्णयसहित ७ दिनभित्र आफूकहाँ आउन जिल्ला प्रशासन कार्यालयले नाडालाई पत्र लेखेको छ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले भदौ ८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले नाडालाई महासंघमा लैजाने निर्णय गरेको विज्ञप्ति निकालेका थिए। नाडाले महासंघमा जाने प्रस्ताव पारित गर्न भदौ २४ गतेका लागि साधारण सभा तय गरेको थियो।

कार्यसमितिको निर्णयविरुद्ध आकाश गोल्छा पक्षले स्थानीय प्रशासन गुहारेको थियो। आकाश पक्षको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालयले नाडालाई पत्र काटेको हो। आकाश आफैं कार्यसमिति सदस्य हुन्।

नाडाका अध्यक्ष करण चौधरीले संस्थालाई महासंघमा रुपान्तरण गरेर फेरि आफैं अध्यक्ष हुने योजना बनाएको भन्दै आकाशले विशेष साधारण सभा रोक्न लगाएका हुन्।

नाडामा करणपछि आकाश अध्यक्ष बन्ने सहमति २०८० पुस तेस्रो साता भएको थियो। करणसँग आकाश पनि अध्यक्षको प्रतिस्पर्धामा थिए। तर, आकाशलाई करणपछि अध्यक्ष बनाउने सहमतिमा त्यतिखेर वरिष्ठ उपाध्यक्ष बनाइएको थियो।

नाडाको विधानमा वरिष्ठ उपाध्यक्षको पद नरहेका कारण जिल्ला प्रशासन कार्यालयले आकाशलाई वरिष्ठ उपाध्यक्ष मान्न अस्वीकार गर्‍यो। त्यसपछि आकाश कार्यसमिति सदस्यमा झरेका थिए। यो विषयले पनि करण र आकाशबीचको विवाद चुलिएको थियो।