सेन्ट पल (मिनेसोटा)। सामाजिक सञ्जाल कम्पनी टिकटकविरुद्ध अमेरिकाको मिनेसोटा राज्यका तर्फबाट मंगलबार मुद्दा दायर भएको छ। टिकटकले युवाहरूमाथि असर गर्ने लत लगाउने अल्गोरिदम प्रयोग गरेको, जसले उनीहरूलाई छोटा भिडियोको बाध्यकारी उपभोक्ता बनाइदिने आरोप लगाएको हो।
‘यो अभिव्यक्ति स्वतन्त्रताको कुरा होइन। मलाइ थाहा छ उनीहरूले प्रतिवाद गर्छन्,’ मिनेसोटाका महान्यायाधिवक्ता कीथ एलिसनले पत्रकार सम्मेलनमा भने, ‘यो वास्तवमा छल, हेरफेर र भ्रामक प्रस्तुतिको कुरा हो। कम्पनीले आफ्नो उत्पादन खतरनाक छ भन्ने थाहा पाउँदा पनि त्यसलाई कम गर्ने वा प्रयोगकर्तालाई सचेत पार्ने कुनै कदम नचालेको कुरा हो।’
मुद्दा राज्य अदालतमा दायर गरिएको हो, जसमा टिकटकले मिनेसोटाका ठगीविरोधी र उपभोक्ता धोखाधडीसम्बन्धी कानुन उल्लंघन गरेको दाबी गरिएको छ। यसअघि पनि एक दर्जनभन्दा बढी राज्यहरूले मुद्दा दायर गरेका थिए, जसले टिकटक किशोरहरूलाई लत लाग्ने गरी बनाइएको र उनीहरूको मानसिक स्वास्थ्यमा क्षति पुर्याउने गरेको आरोप लगाएका थिए। मिनेसोटाको मुद्दा जोडिँदा कुल २४ वटा राज्यले टिकटकविरुद्ध कारबाही गरेका छन्।
यी मुद्दाहरू २०२२ मा १४ वटा राज्यका महान्यायाधिवक्ताहरूले सुरु गरेको संयुक्त अनुसन्धानबाट आएको हो। एलिसनले भने मिनेसोटाले आफ्नै अनुसन्धानपछि मात्र मुद्दा दायर गरेको बताएका छन्।
रोसविल क्षेत्रमा स्वास्थ्य शिक्षक शिन पाडेनले भने, ‘टिकटक प्रयोग बढेसँगै विद्यार्थीहरूको मानसिक स्वास्थ्य समस्या जस्तै डिप्रेसन, चिन्ता, क्रोध, आत्मसम्मान घट्नु र ध्यान दिन नसक्ने प्रवृत्ति उल्लेखनीय रूपमा बढेको मैले देखेको छु।’
मुद्दा राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकलाई अमेरिकी स्वामित्वमा ल्याउने प्रयासरत रहेको बेलामा आएको हो। ट्रम्पले चुनावी अभियानमा टिकटक प्रतिबन्ध गर्ने घोषणा गरेका थिए तर उनले आफ्नै टिकटक खातामार्फत १५ मिलियनभन्दा बढी फलोअर पनि बनाइसकेका छन्।
एलिसनले भने, ‘अन्ततः जसको स्वामित्व भए पनि टिकटकले कानुन पालना गर्नैपर्छ।’
टिकटकले भने मिनेसोटाको आरोप अस्वीकार गरेको छ। ‘यो मुद्दा भ्रमपूर्ण र गलत दाबीमा आधारित छ, जसले टिकटकले आफ्ना प्रयोगकर्ताको सुरक्षाका लागि अपनाएको बलियो कदमलाई बेवास्ता गरेको छ,’ कम्पनीका प्रवक्ता नाथानिएल ब्राउनले भने।

उनका अनुसार किशोर प्रयोगकर्ताका खातामा ५० भन्दा बढी सुरक्षासम्बन्धी सेटिङहरू उपलब्ध छन्। अभिभावकका लागि ‘फ्यामिली पेरिङ टुल’ मार्फत उनीहरूले २० भन्दा बढी कन्टेन्ट र गोपनीयता सेटिङ नियन्त्रण गर्न सक्छन्, जसमा स्क्रिन टाइम, कन्टेन्ट फिल्टर र ‘टाइम अवे’ फिचर जस्ता सुविधा छन्।
मिनेसोटाले टिकटकका अभ्यासहरू धोखाधडीपूर्ण, अन्यायपूर्ण वा अयोग्य घोषित गर्न माग गरेको छ। साथै ती अभ्यासलाई स्थायी रूपमा रोक्ने आदेश र राज्यको कानुनअनुसार प्रत्येक बालबालिकाले टिकटक प्रयोग गरेको हरेक पटकका लागि अधिकतम २५ हजार डलरसम्म क्षतिपूर्ति माग गरेको छ।
एलिसनले संख्यात्मक अनुमान नदिए पनि भने, ‘यो धेरै ठूलो रकम हुन्छ।’ उनले अनुमान गरेअनुसार ‘मिनेसोटाका हजारौं बालबालिकाले टिकटक प्रयोग गरिरहेका छन्।’
‘हामी उनीहरूलाई बन्द गर्न खोजिरहेका छैनौं,’ एलिसनले थपे, ‘तर उनीहरूले आफ्नो काम सुधार्नुपर्छ। टिकटकजस्ता उत्पादनको वैध उपयोग हुन्छ। तर सबै कुरामा जस्तै, यसलाई पनि सुरक्षित र जिम्मेवार ढंगले प्रयोग गर्नुपर्छ।’
मिनेसोटा ती दर्जनौं अमेरिकी राज्यहरूमध्ये एक हो जसले मेटा (फेसबुक र इन्स्टाग्राम) विरुद्ध पनि मुद्दा दायर गरेको छ, जसमा युवालाई लत लाग्ने गरी फिचरहरू बनाएको आरोप छ। स्न्यापच्याट र रोब्लक्सविरुद्ध पनि अन्य राज्यहरूले त्यस्तै मुद्दा चलाइरहेका छन्। (एपी)










