काठमाडौं। निजी क्षेत्रको वायु सेवा कम्पनी श्री एयरलाइन्सले काठमाडौं-जनकपुरको प्रवर्द्धनात्मक भाडादर दुई हजार रूपैयाँ निर्धारण गरेको छ।
सोमबारदेखि उडान सुरू गर्न लागिएको उक्त नयाँ गन्तब्यका लागि 'प्रमोसनल फेयर' निर्धारण गरिएको कम्पनीका प्रवक्ता अनिल मानन्धरले बताए । 'जनकपुर हाम्रो नयाँ गन्तब्य हो। सुरुवाती चरणमा यात्रु सुविधालाई लक्षित गर्दै सीमित अवधिका लागि प्रमोसनल फेयर सार्वजनिक गरेका हौं,' उनले बिजमाण्डूसँग भने।
हाल काठमाडौं-जनकपुर एकतर्फी भाडादर न्यूनतम ३५ सय रूपैयाँ छ। यति एयरलाइन्स र बुद्ध एयरलगायत निजी क्षेत्रका वायुसेवा कम्पनीले उडान गर्दै आएको यो गन्तब्यमा सोमबारदेखि श्रीले पनि उडान गर्न लागेको हो।
कम्पनीले जनकपुर लगत्तै काठमाडौं-सिमरा नियमित उडानका लागि गृहकार्य सुरू गरिसकेको जनाएको छ। प्राधिकरणले कम्पनीलाई जनकपुर र सिमरामा दैनिक एउटा उडानका लागि स्लट दिएको छ।
टर्बोप्रोप जहाजमार्फत उडान गर्नका लागि कम्पनीले गत मंसिर २५ गते काठमाडौं-जनकपुर-सिमरा-काठमाडौं परीक्षण उडान-अवतरण गरेको थियो।
कम्पनीले हाल दुईवटा ५० सीटे सीआरजे-२००, दुईवटा ७८ सीआरजे-७०० मार्फत धनगढी, विराटनगर, नेपालगंज, भरतपुर र भैरहवा लगायत मुलुकका विभिन्न गन्तब्यमा उडान गर्दै आएको छ। जनकपुर, सिमरा र पोखरा कम्पनीका लागि नयाँ गन्तब्य हुनेछन्। यी गन्तब्यमा कम्पनीले बम्बार्डियर कम्पनीको ८० सीट क्षमताको टर्बोप्रोप क्यु-४०० जहाजमार्फत नियमित उडान गर्नेछ।