
काठमाडौं। गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै सुरु हुने बताएका छन्।
उनले आइतबार सुक्खा बन्दरगाह निर्माणस्थल अवलोकन गर्दै निर्माणका लागि ठेक्का स्वीकृत भइसकेकाले अब छिट्टै काम सुरु हुने बताए।
‘बन्दरगाहमा आवश्यक संरचना निर्माणका लागि ठेक्का स्वीकृत भइसकेको छ। अब चाँडै शिलान्यास गर्ने तयारी छ,’ उनले भने।
सुक्खा बन्दरगाह निर्माण सुरु भएको तीन वर्षभित्र बनाउने योजना छ।
बन्दरगाह निमार्णका लागि दोधारा–चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनको ४१ हेक्टर जग्गामा एक हजार ५९३ रुख यसअघि नै कटान गरिसकिएको छ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने बन्दरगाहका लागि दुई देशबीच ठिक दुई वर्षअघि समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
भारतले २ अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारुमा बन्दरगाह निर्माण गर्ने गरी कम्पनी छनोट गरेको छ।
बन्दरगाहमा दुई वटा गोदाम, भन्सार जाँच तथा क्वारेन्टाइन भवन, अध्यागमन तथा सुरक्षा भवन लगायत पूर्वाधार निर्माण हुने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।
नेपालले सुक्खा बन्दरगाहसम्म छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण गरिसकेको छ।