
काठमाडौं । धनुषाको विदेह नगरपालिका २ स्थित गोबराही ईलाकामा बिहिबार तस्कर समूहसँगको झडपमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्।
सोही ईलाकामा मोटरसाईकलमा अवैध सामानहरु लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट खटिएको टोलीले अवैध सामान खोजतलास गर्ने क्रममा एक वटा मोटरसाइकल फेला पारेको थियो।
साथै नजिकै रहेको टहरोमा समेत खोजतलास गर्ने क्रममा अन्दाजी २०० जनाको संख्यामा लुखिछिपी बसेका ती व्यक्तिहरुले घरेलु हातहतियारसहित सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। सोही क्रममा ६ जना सशस्त्र प्रहरी कर्मचारीहरु घाईते भएका छन् भने स्थित नियन्त्रणको लागि सशस्त्र प्रहरीले १३ राउण्ड ग्यास सेल र ४ राउण्ड हवाई फायर समेत गरेको थियो।
घाइते भएकाहरुमध्ये ३ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको छ भने ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।