
काठमाडौं। व्यवसायीहरुले उपभोक्तालाई प्रयोग गर्न नमिल्ने जारमा पानी बेच्ने गरेको पाइएको छ।
काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले गरेको अनुगमनका क्रममा प्रयोग गर्न नमिल्ने जार व्यवसायीहरुले उपभोक्तालाई भिडाउने गरेको पाइएको हो।
विभागले मंगलबार गोङ्गबु बसपार्क क्षेत्रमा प्रशोधित पानी बोक्ने २८ वटा गाडीको अनुगमन गरेको थियो। ती गाडीमा मापदण्ड विपरीतका ४४ वटा जार भेटिएको महानगरले जनाएको छ।
कुच्चिएका, फुटेका लगायत मापदण्ड विपरीतका जार महानगरले जफत गरेर नष्ट गर्न महानगर प्रहरी बललाई दिएको छ।
महानगरले जारमा कैफियत देखिएका पानी उत्पादक कम्पनीलाई सचेत गराएको छ। कुच्चिएका जार बिक्री नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न र बिल बिजक गाडीमै लिएर हिँड्न निर्देशन दिइएको महानगरले जनाएको छ।