
भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले ‘क्याप्टेन कुल’ ट्रेडमार्कका लागि आवेदन दिएका छन्। खेलको तनावपूर्ण र दवाबको स्थितिमा पनि शान्त रहने उनको स्वभावले गर्दा क्रिकेट वृत्तमा उनलाई ‘क्याप्टेन कुल’ भनेर पनि चिनिन्छ।
ट्रेडमार्कका लागि आवेदन सन् २०२३ को जुन महिनामा दिइएको ट्रेडमार्क रजिस्ट्री अफ इन्डियाको पोर्टलमा उल्लेख छ। यो वर्षको यही जुन १६ मा अफिसियल ट्रेडमार्क जर्नलमा यो प्रकाशित भएको थियो। नियमानुसार अब धोनीले यो प्राप्त गर्न थप १२० दिन कुर्नुपर्नेछ। यो अवधिमा दाबी विरोध नआएको खण्डमा उनले यो ट्रेडमार्क प्राप्त गर्नेछन्।
ट्रेडमार्कको क्याटागोरीमा खेल ट्रेनिङ, कोचिङ र खेलको ट्रेनिङसँग सम्बन्धित सेवाहरु छन्।
सन् २०२३ मा धोनीले आवेदन दिँदा यो नामको ट्रेडमार्क यसअघि नै ‘प्रभा स्किल स्पोर्ट्स’ नामको कम्पनीमा दर्ता भएको जवाफ पाएका थिए। जवाफमा उनले उक्त कम्पनीले आफ्नो ब्रान्ड र उक्त शब्दको लोकप्रियताको फाइदा उठाउन खोजिरहेको आरोप लगाउँदै पेटिसन दायर गरेका थिए। चार वटाभन्दा बढी सुनुवाइपछि उनको आवेदन स्वीकृति गरिएको थियो।
अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका धोनीले इण्डियन प्रिमियर लिग (आईपीएल)मा भने चेन्नइ सुपर किंग्सबाट खेल्दै आएका छन्।