रास्वपाका सांसदलाई बोल्न नदिन सभामुखसँग कांग्रेसको माग, नरोके प्रतिवादमा उत्रिने चेतावनी

बिजमाण्डू
२०८२ असार १५ गते १५:०७ | Jun 29, 2025
रास्वपाका सांसदलाई बोल्न नदिन सभामुखसँग कांग्रेसको माग, नरोके प्रतिवादमा उत्रिने चेतावनी
श्याम घिमिरे

काठमाडौं। नेपाली कांग्रेसले रास्वपाका सांसदलाई सदनका बोल्नबाट वञ्चित गर्न माग गरेको छ। कांग्रेसले रास्वपालाई बोल्न नरोके प्रतिवादमा उत्रिने चेतावनी पनि दिएको छ।

Tata
GBIME

प्रतिनिधि सभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदले संसद्को आकस्मिक समयको दुरुपयोग गरेको आरोप लगाउँदै बोल्नबाट वञ्चित गर्न सभामुख देवराज घिमिरेसँग माग गरे।

‘अहिले संसद्‍मा दैनिक संसदीय कारबाही सुरू भएपछि नियमितरूपमा उठ्ने, गालीगलौज गर्ने, व्यक्तिगत लाञ्छना लगाउने प्रक्रिया चलिरहेको छ। चोर भन्ने, फटाहा भन्ने, मानव बेचुवा भन्ने यो प्रक्रिया सुरूवात भएको छ। यसलाई अन्त्य गर्नैपर्छ,’ उनले भने, ‘यो हुन्जेलसम्म संसद्को मर्यादा कायम रहन सक्दैन।’

कांग्रेसका प्रमुख सचेतक घिमिरेले भिजिट भिसाका विषयमा सरकारले छानबिन समिति गठन गरिसकेको अवस्थामा रास्वपाले सभामखले दिएको समय दुरुपयोग गरेर जथाभावी अभिव्यक्ति दिइरहेको भन्दै यसलाई सभामुखले नरोके प्रतिवादमा उत्रिने चेतावनी दिए।

‘भिजिट भिसाका विषयमा संसद्को ध्यानाकर्षण भइसकेको र समिति बनिसकेको अवस्था हो। यो अवस्थामा दैनिक समय प्रदान हुन्छ, त्यसको दुरुपयोग गरेर जुन ढंगले अभिव्यक्ति दिने प्रक्रिया भएको छ, म सभामुखज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने, ‘यो प्रथालाई अन्त्य गर्नुपर्छ। होइन भने यो संसद गालीगलौजमै सकिन्छ। हामीले पनि त्यही ढंगले प्रतिवाद गर्नुपर्ने हुन्छ भन्ने कुरा निवेदन गर्न चाहन्छु। यो प्रक्रियालाई बन्द गर्ने हो भने यस्तो अभिव्यक्ति गर्ने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्छ।’