ट्रम्पको कर नीतिको असर : पहिलो त्रैमासमा अमेरिकी अर्थतन्त्रमा अनुमानभन्दा बढी गिरावट

बिजमाण्डू
२०८२ असार १३ गते ०६:१० | Jun 27, 2025
ट्रम्पको कर नीतिको असर : पहिलो त्रैमासमा अमेरिकी अर्थतन्त्रमा अनुमानभन्दा बढी गिरावट

अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो तीन महिनामा अघिल्लो अनुमानभन्दा बढी घटेको सरकारी तथ्यांकले देखाएको छ।

Tata
GBIME

अमेरिकी वाणिज्य विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पहिलो त्रैमासिकमा कुल गार्हस्थ उत्पादन (जीडीपी) वार्षिक दरमा ०.५ प्रतिशतले घटेको हो। यसअघि ०.२ प्रतिशतको गिरावट हुने अनुमान गरिए पनि हालको तथ्यांकले त्यसलाई परिमार्जन गर्दै सङ्कुचन अझ गहिरो भएको देखाएको छ।

गत वर्षको अन्तिम त्रैमासमा अमेरिकी अर्थतन्त्र २.४ प्रतिशतले वृद्धि भएको थियो। जीडीपी घट्नुमा उपभोग खर्च र निर्यात अपेक्षाभन्दा कमजोर हुनु मुख्य कारण मानिएको छ। साथै, राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको व्यापक भन्सार शुल्कका कारण आयातमा तीव्र वृद्धि भएको छ।

व्यापारिक साझेदारहरूबाट आयातमा लाग्ने नयाँ कर लागू हुनुअघि व्यापारीहरूले ठूलो मात्रामा सामग्री आयात गरी भण्डारण गरेकाले यो असर देखिएको हो। जीडीपीको गणनामा आयात नकारात्मक रूपमा गनिन्छ, जसका कारण सरकारी खर्चमा गिरावट र उपभोगमा कमजोरीसँगै समग्र अर्थतन्त्रमा घटावट देखिएको हो।

वाणिज्य विभागका अनुसार हालको परिमार्जित अनुमानले उपभोग खर्च र निर्यातमा गिरावट देखाएको छ। यद्यपि, आयातको गिरावटले केही हदसम्म त्यसको असरलाई न्यून तुल्याएको छ।

हाल अमेरिकी प्रशासनले अधिकांश व्यापारिक साझेदारहरूबाट आउने सामानमा १० प्रतिशत भन्सार कर घोषणा गरिसकेको छ, जुन अझै कार्यान्वयनको चरणमा पुगेको छैन। तर, जुलाईमा सो निर्णय कार्यान्वयन हुने सम्भावना भएकाले बजारमा अनिश्चितता बढेको छ।

राष्ट्रपति ट्रम्पले स्टिल, एल्युमिनियम र सवारीसाधन आयातमा समेत उच्च कर लगाएका छन्। यस्ता कदमहरूले बजारमा अस्थिरता ल्याउनुका साथै आपूर्ति प्रणालीमा बाधा र उपभोक्ताहरूको मनोबलमा गिरावट ल्याएको अर्थविद्हरूको भनाइ छ। हालका लागि नीति निर्माताहरूले गर्मीयामभर आर्थिक तथ्यांकहरू नजिकबाट विश्लेषण गरिरहेकाले आगामी नीतिमा त्यसको असर देखिने अनुमान गरिएको छ। रासस