पहिरो छल्दै सांसदहरु हेटौंडा पुगे, प्रदेशसभा पुग्दा सूचना टाँसेर बैठक ४ दिन स्थगित

बिजमाण्डू
२०८२ असार १२ गते १६:२१ | Jun 26, 2025
पहिरो छल्दै सांसदहरु हेटौंडा पुगे, प्रदेशसभा पुग्दा सूचना टाँसेर बैठक ४ दिन स्थगित

काठमाडौं । बागमती प्रदेशसभाको आज बैठक स्थगित भएको छ। बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणबस स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

Tata
GBIME

अर्को बैठक असार १६ गते दिउँसो १ बजे बस्ने गरि बोलाइएको छ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सत्तापक्ष र प्रतिपक्ष दलसँगको सहमतिमा असार १६ गते दिउँसो १ बजे बैठक बोलाइएको बताए।

आजको बैठकमा सहभागी हुन काठमाडौं सहित बागमतीका विभिन्न जिल्लाबा सांसदहरु प्रदेशसभा पुगेका थिए। बर्खासँगै विभिन्न स्थानमा आएको पहिरो छिचोल्दै सांसदहरु हेटौंडा पुग्दा प्रदेशसभामा सूचना टाँसेर बैठक ४ दिनलाई सारिएको जनाइएको थियो।

सांसदहरुले प्रदेशसभाको यो रवैयाप्रति असन्तुष्टि जनाएका छन्। हुनत: पहिलो कार्यकालमा पनि बर्खाको समयमा पहिरो पन्छाएपछि सांसदहरु प्रदेशसभा पुगे पछि पनि यसरी नै बैठक स्थगित हुँदा असन्तुष्ट थिए। यो कार्यकालमा पनि त्यही दृश्य दोहोरिएको छ।

प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमाथि अहिले प्रश्न उठिरहेको छ। सत्तापक्ष र विपक्षी सांसदहरु सरकारको आलोचनामा उत्रँदा प्रदेशसभा बैठक अवरुद्ध भएको हो।