
काठमाडौं। बिपी राजमार्गमा दुई वटा खण्डको पुनर्निर्माणका लागि ठेक्का सम्झौता भएको छ।
काभ्रेतर्फ चारसयबेंसीदेखि डालाबेंसीसम्म ८.५ किलोमिटर र सिन्धुलीतर्फ बर्खेखोलादेखि नेपालथोकसम्म ४ किलोमिटर सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता गरिएको हो।
चारसयबेंसीदेखि डालाबेंसीसम्मको सडक पुनर्निर्माणका लागि १ अर्ब ४२ करोड रुपैयाँमा थानी/एवान/कमलजित जेभी र सडक डिभिजन कार्यालय भक्तपुरले सम्झौता गरेका छन्।
बर्खेखोलादेखि नेपालथोकसम्मको सडक पुनर्निर्माणका लागि खरिढुंगा/घिसिङ/क्षितिज जेभी र सडक डिभिजन कार्यालय सिन्धुलीबीच सम्झौता भएको छ। यो खण्ड ६१ करोड १४ लाख रुपैयाँमा ठेक्का लगाइएको छ। सम्झौता अनुसार पुनर्निर्माणको काम दुई वर्षमा सक्नुपर्नेछ।
कम्पनीले वर्षापछि मात्रै काम सुरु गर्ने तय भएको सडक डिभिजन कार्यालयका इन्जिनियर सुदर्शन उप्रेतीले बताए।
काभ्रेतर्फ भकुण्डेबेंसीदेखि चारसयबेसीसम्म ११.८ किलोमिटर सडक खण्डको पनि आर्थिक प्रस्ताव खोलिएको छ। लामा/कान्तिपुर जेभीले सबैभन्दा कम १ अर्ब १४ करोड रुपैयाँमा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ। यो कम्पनीसँग एक हप्ताभित्र सम्झौता गरिने सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले बताए।
काभ्रेतर्फ नै अप्ठेरो रहेको डालाबेसीदेखि बर्खेखोलासम्मको ५.५ किलोमिटर सडक पुनर्निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सहयोग गर्ने भएको छ। यो खण्डको पुनर्निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढेको छैन।