प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

बिजमाण्डू
२०८२ असार ९ गते १६:१३ | Jun 23, 2025
प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौं। प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Tata
GBIME

अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, सुन्दर कर्णाली संस्थासँग करार सम्झौता गरी सोही संस्थाबाट अस्पताल काम गर्न खटिएकी तृप्ति शाही र कुमारी बैंकको एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिजाली मगरविरुद्ध २५ लाख ६७ हजार रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर गरेको हो।

प्रदेश अस्पतालको बिलिङ काउन्टरमा २०८० साउन १ देखि ३२ गतेसम्मको अवधिमा ३४ लाख ३ हजार ८ सय ५६ रुपैयाँ ५० पैसा राजस्व संकलन भएको थियो। उनीहरुले ८ लाख ३६ हजार ३ सय ३० रुपैयाँ मात्रै अस्पतालको खातामा दाखिला गरी बाँकी २५ लाख ६७ हजार ५ सय २६ रुपैयाँ ५० पैसा हिनामिना गरेको अनुसन्धानमा खुलेको आयोगको विज्ञप्तिमा छ।

मुद्दामा प्रतिवादीहरुबाट बिगो असुलीसँगै कैद र जरिवाना माग गरिएको छ।