
काठमाडौं। ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ करोड रुपैयाँभन्दा बढी ठगीमा संलग्नको आरोपितमध्ये एक जनालाई प्रहरीले कम्बोडियाबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बर्दियाको बाँसगढी-७ का ४२ वर्षीय ज्योतिबहादुर भण्डारीलाई बिहीबार ल्याइएको हो।
उक्त सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकहरु समेतको पैसा ठगी गरेर फरार भण्डारीसँगै कांग्रेस सांसद् धनराज गुरुङकी पत्नी ज्योति गुरुङ प्रहरीको खोजी सूचीमा छिन्। दुवैलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलबाट गत कात्तिक १३ मा ‘रेड नोटिस’ जारी गर्न लगाएको थियो।
संस्थाको महाप्रबन्धकको जिम्मेवारीमा रहेका बेला गुरुङ वेपत्ता भएकी थिइन। उनी भागेपछि संस्थाको ठूलो रकम अपचलन भएको घटना बाहिरिएको थियो। उनका बारेमा भने प्रहरी अझै बेखबर छ।
सीआइबीको हिरासतमा राखिएका भण्डारीविरुद्ध ठगी र किर्ते कसुरमा मुद्दा चलाउने तयारी छ।