
काठमाडौं। धनकुटाका विभिन्न स्थानका किसानले फलाएका बन्दाकोपी बिक्रीका लागि विराटनगर र भारततर्फ पठाउन ढुवानीमा प्रयोग हुने दुई ट्रकमा प्रहरीले उल्लेख्य परिमाणमा गाँजा बरामद गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार दुई दिनमा धरान-१३ र इटहरी-२० बाट ४ हजार २ सय ३० किलोग्राम गाँजा बरामद भएको हो।
धरान-१३ शिवधारास्थित कोशी राजमार्गमा सोमबार भेडेटारबाट धरानतर्फ आउँदै गरेको अदुवा र बन्दाकोपी बोकेको प्रदेश १-०२-००२ ख ०८४८ नम्बरको ट्रकमा ७० वटा प्लास्टिकको बोरामा प्याकिङ गरेको २ हजार १ सय ३० किलोग्राम गाँजा बरामद भएको थियो।
यस्तै मंगलबार इटहरी-२० तरहरा जंगल नजिकै कोशी राजमार्गमा ना५ख ६११६ नम्बरको ट्रकमा ७० वटा प्लास्टिकको बोरामा प्याक गरी माथिबाट बन्दाकोपी र आलुको बोराले छोपी ल्याउदै गरेको अवस्थामा २ हजार १ सय किलोग्राम गाँजा बरामद भएको हो।
लागूऔषध गाँजा बरामद भएसँगै ट्रकचालक धनकुटा शहिदभूमि गाउँपालिका-६ का राजेन्द्र राईसहित सोही स्थानका सुनिल राई र बराहक्षेत्र- ९ का सुमन राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
चेकजाँचकै क्रममा धनकुटाको साँगुरीगढी-६ स्थितबाट इलाका प्रहरी कार्यालय भेडेटारले पाख्रिवास-८ का नारायणप्रसाद राईलाई ९ किलो ९०० ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ।