
काठमाडौं। गत बिहीबार भारतको अहमदाबादमा भएको एयर इण्डियाको हवाईजहाज दुर्घटनालाई १० वर्ष यताकै ठूलो दुर्घटनाको रुपमा लिइएको छ। अहमदाबादबाट लण्डनको गेटविक अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान गरेको बोइङ ७८७ ‘ड्रिमलाइनर’ जहाज दुर्घटनामा २४१ जनाको मृत्यु भएको थियो। यो घटनाले एयर इण्डियालाई ‘वर्ल्ड क्लास एयरलाइन’ बनाउने टाटाको लक्ष्यमा धक्का लागेको छ।
सरकारी स्वामित्वबाट एयरलाइन्स कम्पनी टाटाले पुनः आफ्नो स्वामित्वमा सन् २०२२ मा प्राप्त गरेको हो। आफ्नो स्वामित्वमा आएसँगै टाटाले कम्पनीको व्यवस्थापन सुदृढ पार्नुका साथै आक्रामक रुपमा लगानी विस्तार गरेको छ। जहाजसँगै जनशक्ति थपेको छ। उडानका गन्तव्य विस्तार गरेको छ।
तर, बिहीबारको अनपेक्षित दुर्घटनाले टाटाको व्यवस्थापनलाई स्तब्ध तुल्याएको छ। टाटालाई यतिखेर जहाज मर्मत सम्भारमा विशेष जोड दिन विज्ञले सुझाव दिएका छन्।

यो दुर्घटना टाटाका लागि अब मुख्य चुनौती बन्न पुगेको छ। टाटाले एयर इण्डियाको पूर्ण स्वामित्व लिएलगत्तै सीइओमा क्याम्पवेल विल्सनलाई ल्यायो। उनले यो वायुसेवालाई ‘वर्ल्ड क्लास एयरलाइन’ बनाउने घोषणा गरेका थिए। त्यतिखेर टाटाले एमिरेट्सलाई आफ्नो प्रतिस्पर्धी मान्दै यो घोषणा गरेको थियो।
सरकारको स्वामित्वमा रहँदै गर्दा एयर इण्डियाले सामना गर्दै आएको फ्लाइट डिले, स्पेयर पार्ट्सको अभाव, मर्मत सम्भारमा ढिलाइ, वित्तीय संकट लगायतका समस्या सम्बोधन गर्दै अगाडि बढ्ने टाटाको योजना थियो। बिहीबार दुर्घटना भएको बोइङको नयाँ सिरिजको ड्रिमलाइनरबारे यतिखेर अनुसन्धान सुरु भइसकेको छ।
‘नयाँ जहाज र मर्मत सम्भार नै एयर इण्डियालाई टिकाउने मुख्य आभार मानिएको थियो। कुशल मर्मत सम्भारलाई नै मुख्य प्राथमिकता दिइनुपर्थ्यो,’ भारतीय जहाज दुर्घटना अनुसन्धान ब्युरोका पूर्व कानुन विज्ञ विभूति देवराले भनेका छन्।
यस अघि सन् २०१० मा भारतको स्वामित्वमा रहेको बेला एयर इण्डियाको जहाज दुबई-मंगलोर अवतरणका क्रममा धावनमार्गबाट ओभरसुट हुँदा १५६ जनाले ज्यान गुमाएका थिए। एयर इण्डियाकै भगिनी लो कस्ट वायुसेवा एयर इण्डिया एक्सप्रेसको जहाज धावनमार्गमा चिप्लँदा २१ जनाले ज्यान गुमाएका थिए।

यही जुन २ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १०० भन्दा बढी वायुसेवाका प्रतिनिधिबीच दिल्लीमा आयोजित आयटाको सम्मेलनमा भारतीय उड्डयन उद्योगको व्यापक विस्तार भइरहेको बताएका थिए।
अहमदाबादमा हवाई दुर्घटना लगत्तै एयर इण्डियाले आफ्नो वेबसाइटमा रहेको चहकिलो रातो रङको लोगो श्यामश्वेत रङमा रुपान्तरण गरिसकेको छ।
‘एउटा वायुसेवा कम्पनीका लागि महत्त्वपूर्ण कुरा भनेको उसको ब्राण्डको पहिचान र हवाई सुरक्षा हो। यो परिप्रेक्षमा ब्राण्डको लागि गम्भीर ठेस पुगेको छ,’ सञ्चार परामर्शदाता दिलीप चेरियनले भनेका छन्।
कम्पनी आफ्नो समूहको स्वामित्वमा आउँदा रतन टाटा निकै खुसी थिए। उनले सामाजिक सञ्जालमा लेखेका थिए – वेलकम ब्याज एयर इन्डिया।
स्थापना कालमा एयर इण्डिया विशेष साजसज्जासहितको आवरण समावेश गरिएको जहाज भएको वायुसेवा मानिन्थ्यो। त्यतिखेर यसको संस्थापक भारतकै पहिलो व्यावसायिक पाइलट जेआरडी टाटा थिए।
सन् २००० को मध्यतिर आइपुग्दा यो वायुसेवा वित्तीय संकटमा पर्न थालेको थियो। वाइडबडी जहाज सञ्चालन गर्दै आएको कम्पनीले बिजनेस क्लासको सेवा नै फितलो दिन थालेको थियो। कम्पनीले बोइङ ७८७ सिरिजको ड्रिमलाइनर जहाजको स्पेयर पार्ट्सको अभाव हुँदा ग्राउण्डेड गरेको थियो।
तर, जब टाटाले एयर इण्डियाको पुनः स्वामित्व लियो तब व्यावसायिक रुपमा एयर इण्डिया आक्रमक रुपमा अगाडि बढ्दै आएको थियो।
एयर इण्डियाको भारतको आन्तरिक उडानमा ३० प्रतिशत बजार हिस्सा छ। कम्पनीसँग १९८ थान जहाज थिए। जसमा २७ थान जहाज १५ वर्ष सम्म पुराना छन्। कम्पनीअन्तर्गत एयर इण्डिया एक्सप्रेससँग १०१ थान जहाज छन्। जसमध्ये ३७ प्रतिशतभन्दा बढी जहाज १५ वर्ष भन्दा बढी पुराना छन्।
नेपालमा एयर इण्डियाले दैनिक ५ वटा नियमित व्यावसायिक उडान गर्दै आएको छ।